ताप्लेजुङका किसानलाई अलैँची भित्र्याउन भ्याइनभ्याइ

सहयात्रा टिभी

काठमाडौं । कातिक २१, ताप्लेजुङका किसानलाई अलैँची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ ।

दसैँ सकिएसँगै किसान अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् । ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैँची थन्क्याउने मुख्य समय हो ।

अलैँची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गरिन्छ । बेँसी क्षेत्रमा साउनदेखि लेकाली क्षेत्रमा मङ्सिर तेस्रो सातासम्म अलैँची टिपाइ हुन्छ । अहिले मध्यभागमा अलैँची थन्क्याउने मुख्य याम भएकाले किसानलाई चटारो छ ।

मुख्य याम भएकाले चाडपर्वमा पनि अलैँची बारी (बगान)मै बिताउनुपरेको फक्ताङलुङ गाउँपालिका–६ मादिबुङका किसानले  बताए ।

घरमा बसेर चाडपर्व मनाउन थाल्दा जङ्गली जीवजन्तुले धेरै क्षति गर्ने भएकाले चाडपर्व नभनी अलैँची टिप्न र थन्क्याउनमा व्यस्त हुनुपरेको मादिबुङका किसानले  बताए ।

 

प्रकाशित : 7 November, 2023

प्रतिक्रिया दिनुहोस्