उदयपुर र नवलपरासी पश्चिममा ११ बजेदेखि मतगणना

सहयात्रा टिभी

उदयपुर । प्रदेशसभा र प्रतिनिधिसभाको मंसिर २१ गते सम्पन्न भएको निर्वाचनको उदयपुर जिल्लामा आज ११ बजेदेखि मतगणना कार्य शुरु हुने भएको छ ।

उदयपुरका प्रजिअ प्रदीपराज कँडेलका अनुसार अहिले बिहान ८ बजे जिल्लाका राजनीतिक दल, मुख्य निर्वाचन अधिकृत र सुरक्षाकर्मी सहितको सर्वदलीय बैठकपछि ११ बजेदेखि औपचारिक रुपमा मतगणना कार्य शुरु हुने भएको हो ।

जिल्लाको ९८ मतदानस्थल र २३३ मतदान केन्द्रबाट सम्पूर्ण रुपमा मतपेटिका बिहीबार राति सम्ममा संकलन गर्ने कार्य सम्पन्न भइसकेका कारण आज ११ बजेबाट औपचारिक रुपमा मतगणना कार्य शुरु हुने भएको प्रजिअ कँडेलले बताए छ । उदयपुरमा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि चार क्षेत्र निर्धारण भएको थियो । प्रतिनिधिसभाको सदस्यको उम्मेद्वारमा १९ राजनीतिक दलले सहभागिता जनाएका छन् भने प्रदेशसभाका लागि दुई स्वतन्त्र उम्मेद्वारसहित २९ राजनीतिक दलले सहभागिता जनाएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले बताएको छ ।

नवलपरासी—नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रको आज बिहान ११ बजेदेखि मतगणनाको प्रक्रिया शुरु हँुदैछ । मतगणनाअघि दलको बैठक गरी सहमतिअनुसार बिहान ११ बजेदेखि मतगणनाको प्रक्रिया शुरु गर्न लागिएको नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रका मुख्य निर्वाचन अधिकृत माधवेन्द्रराज रेग्मीले जानकारी दिए ।

नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्र मतगणना सदरमुकाम परासीस्थित आदर्श माविमा गरिने तयारी गरिएको छ । यसैबीच नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रको मतगणना आज साँझ ४ बजेबाट मात्र शुरु हुँदैछ । पहाडी क्षेत्रबाट अझै पनि मतपेटिका आउन बाँकी रहेकाले साँझ ४ बजेबाट मतगणना गरिने तयारी गरिएको नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रका मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए । सुरक्षाको दृष्टिकोणले पहाडी क्षेत्रका केही मतपेटिका आउन बाँकी रहेको छ । आज दिउँसो २ बजेसम्म मतपेटिका ल्याएर शिव मावि कावासोतीमा मतगणना गर्ने तयारी गरिएको छ ।

नवलपरासीमा प्रतिनिधिसभातर्फ चार वटा निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ आठ वटा निर्वाचन क्षेत्र रहेका छन् । प्रदेश नं ४ नवलपरासी (बर्दघाट सुस्ता) पूर्व र प्रदेश नं ५ नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम गरी दुई जिल्लामा विभाजित नवलपरासीमा कुल चार लाख २९ हजार ९५१ जना मतदाता रहेका छन् ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्