दुई गाउँपालिकाको मतपेटिका आज ल्याइने

सहयात्रा टिभी

सिन्धुली । सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज मात्र ल्याइने भएको छ । हरिहरपुरगढी, मरिण गाउँपालिकाको मतपेटिका आज ल्याइने भएको हो ।

बिहीबार साँझ ७ बजेतिर हरिहरपुरगढी गाउँपालिका–७ भुताहाबाट सिन्धुलीमाडीतर्फ मतपेटिका बोकी ल्याउँदै गरेको गाडी लक्षित गरी बम विष्फोट गराइएपछि मतपेटिका मतदान केन्द्रमा नै रोकिएका थिए । कच्ची ग्रामीण सडक र रातिको यात्रामा थप जोखिम हुने भन्दै मतपेटिका सिन्धुलीमाडी नल्याइएको हो । अब हरिहरपुरगढी गाउँपालिकाका नौ मतदानस्थलका १८ मतदान केन्द्रका मतपेटिका र मरिण गाउँपालिकामा रहेका नौ मतदानस्थलका १९ मतदान केन्द्रका मतपेटिका ल्याउन बाँकी रहेको छ ।

कच्ची सडकमा राति मतपेटिका ल्याउन खतरा हुने भन्दै राति मतपेटिका नल्याइएको प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । सडकका केही स्थानमा शंकास्पद वस्तु तथा जोखिम देखिएपछि मतपेटिकालाई सुरक्षाकर्मी कै निगरानीमा सुरक्षित साथ राखिएको उनले जानकारी दिए । दुवै गाउँपालीकाबाट मतपेटिकालाई जोखिमयुक्त स्थानमा पूर्वतयारीका साथ मतपेटिका ल्याइने प्रजिअ दाहालको भनाइ छ । ती गाउँपालिकामा मतपेटिका ल्याउन आवश्यक सुरक्षा रणनीतिसहित आज दिउँसोसम्ममा मतपेटिका सदरमुकाम आइपुग्ने उनले बताए ।

सिन्धुलीमा मतदान शान्तिपूर्वक सम्पन्न भए पनि हरिहरपुरगढी गाउँपालिकामा मतपेटिका ल्याउन केही समस्या देखिएको र थप क्षति हुन सक्नेतर्फ सचेत भई आवश्यक सुरक्षाकर्मीको टोली परिचालन गरी मतपेटिका ल्याइने बताइएको छ । कमलामाई नगरपालिका, दूधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिकल गाउँपालिका, गोलन्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र घ्याङलेख गाउँपालिकामा रहेका मतदान केन्द्रबाट मतपेटिका रातभरीमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याई पु¥याइएको निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए ।

आज बिहानभरमा मतपेटिका सिन्धुलीमाडीमा ल्याइने र दिउँसोबाट मात्र मतगणना शुरु हुने बताइएको छ । सिन्धुलीमा २४० मतदान केन्द्र थिए । सिन्धुलीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ६५ प्रतिशत मतदान भएको थियो ।

प्रकाशित : 8 December, 2017

प्रतिक्रिया दिनुहोस्