अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाए

सहयात्रा टिभी

काठमाडौं । मंसिर १, मंसिरका लागि अधिकांश वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएका छन् ।

बैंकिङ प्रणालीमा लगानीयोग्य तरलता सहज अवस्थामा रहेको र कर्जाको माग निक्षेपमा भएको वृद्धिको तुलनामा न्यून हुँदा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर घटाएर लागत घटाउनमा केन्द्रित हुन लागेका छन् ।

जसले गर्दा मंसिरका लागि निक्षेपको ब्याजदर प्रकाशित गर्दा २० मध्ये १४ वाणिज्य बैंकले ब्याजदर घटाएर प्रकाशित गरेका छन् ।

५ वटा बैंकले कात्तिककै ब्याजदरलाई निरन्तरता दिंदा माछापुच्छ्रे बैंकले भने ब्याजदर बढाएको छ । साउनदेखि लगातार एकल अंक ९.९९ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर मंसिरमा आएर भने बढाएको हो ।

मंसिरका लागि अधिकांश बैंकले ब्याजदर घटाएसँगै वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदरको औसत पनि घटेको छ ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ब्याजदर निर्धारण गर्ने आधारको रुपमा सोही वर्गको बैंकहहरुले अघिल्लो महिनाको अधिकतम ब्याजदरको औसत निकालेर त्यसको १० प्रतिशत मात्रै तलमाथि गर्नसक्ने व्यवस्था गरेको छ ।

‘बैंक तथा वित्तीय संस्थाले निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औसत तथा न्यूनतम ब्याजदर (कलनिक्षेप बाहेक) को औसतमा बढीमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन्,’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनको ब्याजदर सम्बन्धी व्यवस्थामा भनिएको छ ।

यसरी ब्याजदर निर्धारण गर्दा कायम हुने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर उक्त निर्देशनले तोकेको सीमाभन्दा बढी हुन गएमा अधिकतम वा न्यूनतम मध्ये एक दर सोही कायम गरी अन्य दरहरु समायोजन गर्नुपर्ने व्यवस्था गरेको छ । सोही सीमाभित्र रहेर वाणिज्य बैंकहरुले मंसिरको ब्याजदर प्रकशित गरेका हुन् ।

प्रकाशित : 17 November, 2023

प्रतिक्रिया दिनुहोस्