नेपालले बीडब्लुजीको बैठक राख्ने प्रस्ताव पत्र भारत सरकारसमक्ष पठायो

सहयात्रा टिभी

काठमाडौं । मंसिर १, नेपालले सीमासम्बन्धी समस्याको प्राविधिक विषयहरु समाधान गर्न बनेको बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लुजी)को बैठक राख्ने प्रस्ताव भारत सरकारसमक्ष पठाएको छ ।

 

परराष्ट्र मन्त्रालयका अनुसार बीडब्लुजीको बैठक यथासिघ्र आयोजना गर्न नेपालको तर्फबाट प्रस्ताव गरी भारतीय पक्षलाई पत्राचार गरिएको छ । तर, नेपालको तर्फबाट गरिएको प्रस्तावित मिति र भारतीय जवाफबारे परराष्ट्र मन्त्रालय मौन छ ।

संघीय संसदको दोस्रो अधिवेशनमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले कालापानी, लिपुलेक, लिम्पियाधुराको सीमा समस्या समाधानका निमिक्त सरकारको तर्फबाट भइरहेको कूटनीतिक प्रयासको प्रगति माग गरेका थिए ।

जवाफमा परराष्ट्र मन्त्रालयले ‘सीमा सम्बन्धी नसुल्झिएका विषयहरुलाई सुल्झ्याउनको लागि कूटनीतिक स्तरमा वार्ता गर्न नेपालको तर्फबाट भारत सरकार समक्ष निरन्तर प्रयास हुँदै आएको’ बताएको हो ।

यही जवाफमा परराष्ट्र मन्त्रालयले बीडब्लुजीको बैठक बोलाउन प्रस्ताव गरी पत्राचार गरिएको जानकारी दिएको हो । ‘बीडब्लुजीको बैठक यथासिघ्र आयोजना गर्न नेपालको तर्फबाट प्रस्ताव गरी भारतीय पक्षलाई पत्राचार गरिएको’ लिखित जवाफमा उल्लेख छ ।

नेपाल र भारतको सीमा सम्बन्धी बीडब्लुजीको पछिल्लो बैठक भारतको देहरादुनमा सन २०१९ अगष्ट २८ देखि ३० तारिखसम्म बसेको थियो । त्यसपछि अर्को बैठक राख्ने प्रयास नेपालको तर्फबाट निरन्तर भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अप्रिल १ देखि ३ तारिखसम्म तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा द्धिपक्षीय संयन्त्रमार्फत सीमा सम्बन्धी विषय सम्बोधन गर्न भारतीय पक्षलाई आग्रह गरेका थिए ।

एक पक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने दोहोर्‍याउँदै नेपाली भूभाग समेटेर भारतले आफ्नो नक्सा प्रकाशित गरे लगत्तै प्रेस विज्ञप्ती जारी गरिएको र विभिन्न मितिमा भारतीय पक्षसँग कूटनीतिक पत्राचार गरिएको बताएको छ ।

 

प्रकाशित : 17 November, 2023

प्रतिक्रिया दिनुहोस्