=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


वीर अस्पतालमा ‘एक्स–रे फिल्म’ नहुँदा सिटीस्क्यान सेवा प्रभावित

सहयात्रा टिभी

काठमाडौं । मंसिर १, मुलुकको जेठो वीर अस्पतालमा ‘एक्स–रे फिल्म’ नहुँदा सिटीस्क्यान सेवा प्रभावित भएको छ ।

अस्पताल प्रशासनका अनुसार सप्लायर्सले ‘एक्स–रे फिल्म’ उपलब्ध नगराउँदा एक हप्तादेखि सिटीस्क्यान सेवा ठप्प भएको हो ।

सिटीस्क्यानका लागि १४ इन्च लम्बाइ र १६ इन्च चौडाइको फिल्म चाहिन्छ । तर, अस्पतालसँग ‘एक्स–रे फिल्म’ स्टकमा समेत छैन। सिटीस्क्यान सेवा नहुँदा दैनिक १०० भन्दा बढी बिरामी फर्कन बाध्य छन् ।

मुटु, टाउकोको समस्या, श्वासप्रश्वास, नसा, हाडजोर्नी सम्बन्धी जटिल समस्या लिएर अस्पताल आउने बिरामीको तत्काल सिटीस्क्यान गर्नुपर्ने हुनसक्छ ।

वीरमा यो समस्या देखिएको पहिलो पटक भने होइन । यसअघि पनि फिल्म नभएर पटक–पटक सेवा अवरुद्ध भइसकेको छ । वीरमा सिटीस्क्यान गर्न २५ सयदेखि ४ हजार रुपैयाँसम्म पर्छ । तर, निजीमा भने दोब्बर शुल्क तिर्नुपर्छ ।

एक्स–रे फिल्मको अभाव हुनुमा मुख्य गरी अस्पताल प्रशासन नै दोषी छ । तर, सिटीस्क्यान जस्तो अत्यावश्यक सामानको पर्याप्त ‘स्टक’ नराखेको कारणले पनि यस्तो अवस्था आएको हो ।

वीरका निर्देशक डा. सन्तोष पौडेल भाजुरत्न मेडिसेल्स कम्पनीले एक्स–रे फिल्म उपलब्ध नगराउँदा सिटीस्क्यान सेवा प्रभावित भएको बताउँछन् । अहिले अस्पतालले एक्स–रे फिल्म नहुँदा रिपोर्ट भने पेन ड्राइभमा दिएर पठाउने गरिएको छ ।

‘हामीले सस्तोमा टेन्डर गर्दा भाजुरत्न मेडिसेल्स कम्पनीले नै पायो । त्यसको सामान दिन सक्ने राम्रो क्षमता रहेनछ’ डा. पौडेलले भने, ‘हामीलाई चाहिने पर्याप्त सामान दिन सक्दैन ।’

सम्झौता अनुसार नियमित सामान उपलब्ध नगरेका कारण भाजुरत्न मेडिसेल्स कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाएको डा. पौडेलले बताए ।

पौडेलका अनुसार अर्थ मन्त्रालयको बजेट कटौती र सस्तोमा टेन्डर गर्दा यस्तो समस्या निम्तिएको हो ।

‘अहिले टेन्डर गरेर सस्तोमा ल्याउन खोज्दा समस्या निम्तिएको हो । पहिला हुँदा आएको टेन्डरभन्दा सस्तो भएकाले मख्ख परियो । तर, उक्त कम्पनीको क्षमता नै नभएकाले सामान उपलब्ध नहुँदा सेवा प्रभावित बन्यो’, डा. पौडेलले भने ।

 

प्रकाशित : 17 November, 2023

प्रतिक्रिया दिनुहोस्