नेपाल सुपर लिग आजदेखि, नौ टोलीको सहभागिता
काठमाडौं । मंसिर ८, फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ (एनएसएल) को दोस्रो संस्करण शुक्रबारदेखि सुरु हुँदै छ । प्रतियोगिताका खेलहरू काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलाइने छ ।
उद्घाटन खेल साविक विजेता काठमाडौँ रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलामबीच हुनेछ। उद्घाटन खेल साँझ ६ बजे सुरु हुनेछ ।
क्लब स्तरीय यो फुटबल प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँ रेजर्स नेपाल सुपर लिगको पहिलो संस्करणको विजेता टोली हो ।
पहिलो संस्करणको फाइनलमा काठमाडौँ रेजर्सले धनगढी एफसीलाई हराउँदै उपाधि चुमेको थियो । प्रतियोगिताको पहिलो संस्करणमा सातवटा टोलीले मात्र सहभागिता जनाएका थिए ।
प्रतियोगिताको दोस्रो संस्करणमा भने देशभरका नौवटा फ्रेन्चाइज क्लबको सहभागिता रहने छ । नेपाल सुपर लिगको दोस्रो संस्करणमा कर्णालीबाहेक सबै प्रदेशका क्लबहरूको प्रतिनिधित्व रहेको छ । बागमती प्रदेशबाट काठमाडौँ रेजर्स एफसी, ललितपुर सिटी एफसी र एफसी चितवन गरी तीनवटा क्लबले सहभागिता जनाउँदै छन् ।
यसैगरी गण्डकी प्रदेशबाट पोखरा थन्डर्सलेसहभागिता जनाउने छ । लुम्बिनी प्रदेशको बुटवल लुम्बिनी एफसीले प्रतियोगितामा भाग लिएको छ । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व धनगढी एफसीले गर्दैछ ।
कोशी प्रदेशबाट भने झापा एफसी र स्पोर्टिङ इलाम डी मेची एफसीले प्रतियोगितामा सहभागिता जनाउँदै छन् । यसका अतिरिक्त प्रतियोगिताकोदोस्रो संस्करणमा मधेश प्रदेशको प्रतिनिधित्व विरगञ्ज युनाइटेड एफसीले गर्नेछ ।
पहिलो संस्करणमा सहभागिता जनाएको विराटनगर सिटी एफसीले भने यसपटक भाग लिएको छैन । दोस्रो संस्करणमा तीनवटा नयाँ क्लब थपिएका छन् । झापा एफसी, स्पोर्टिङ इलाम डी मेची एफसी र विरगञ्ज युनाइटेड एफसीले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन लागेका हुन् ।
नेपाल सुपर लिग (एनएसएल) को आयोजक नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्टका निर्देशक श्रेयन्स कार्कीले ठूलो आर्थिक चुनौतीबिच फ्रेन्चाइज टोलीहरूको सहयोग र आम समर्थकको चासोका कारण दोस्रो संस्करणलाई भव्य बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल सुपर लिगको दोस्रो संस्करणलाई अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोग रहेको छ । प्रतियोगिताका क्रममा कुल ४० वटा खेल हुनेछन् । सबै खेल दशरथ रंगशालामै खेलाइने आयोजकले जनाएको छ ।