काठमाण्डौमा सडक खन्न अनुमति नदिँदा तार भूमिगत बनाउने काम बेवारिसे

सहयात्रा टिभी

काठमाडौं । मंसिर १५, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडक विभागले सडक खन्न अनुमति नदिँदा काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणाली (तार) लाई भूमिगत बनाउने काम बेवारिसे बनेको बताउनुभएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारी निकायहरूबीचको समन्वय अभावमा ठूलो र महत्त्वपूर्ण आयोजना बेवारिसे अवस्थामा पुग्नु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्नुभयो ।

सडक विभागले आफ्नो अधिनमा रहेको सडक खन्न अनुमति नदिएपछि विद्युत् वितरण प्रणाली भूमिगत बनाउने आयोजनाको काम गएको असारबाट ठप्प छ ।

ललितपुर महानगरपालिका र प्राधिकरणको साझेदारीमा जडान गरिएका स्मार्ट सडक बत्ती उद्घाटन गर्न बिहीवार ललितपुरमा भएको कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले तार भूमिगत गर्ने काममा संलग्न निर्माण व्यवसायीहरू निर्माणस्थल छोडी हिँडिसकेको बताउनुभयो ।

यस्तो अवस्थामा आयोजना कार्यान्वयन भइरहेका पालिकाका जनप्रतिनिधिले सडक विभागसँग समन्वय गरिदिएमा अझै पनि केही समय रहेको उल्लेख गर्दै घिसिङले सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सडकको पेटीमा काम गर्न पालिकाले अनुमति दिए पनि सडक विभागले काम गर्न नदिइरहेको बताउनुभयो ।

प्राधिकरणले काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित बनाउन पहिलो चरणमा काठमाण्डौको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा काम शुरु गरिएको थियो ।

दोस्रो चरणमा काठमाण्डौका बाँकी ठाउँ, तेस्रो चरणमा ललितपुर तथा भक्तपुरको सहरी क्षेत्र र चौथौ चरणमा पोखरा तथा भरतपुर महानगरपालिकाअन्तर्गतका क्षेत्रहहरुको वितरण प्रणालीलाई भूमिगत, सुदृढीकरण र स्वचालित गर्ने काम शुरु गरिएको थियो ।

 

प्रकाशित : 1 December, 2023

प्रतिक्रिया दिनुहोस्