राष्ट्रिय सभा चुनावका लागी गठबन्धनको भागवण्डामा छलफल सुरु

सहयात्रा टिभी

काठमाडौँ । मंसिर १८, राष्ट्रिय सभा चुनावका लागि सत्तारुढ गठबन्धनको भागवण्डामा छलफल सुरु भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरु भने झुलाघाट–चिवाभञ्याङ यात्रामा भएकाले यसबारे कुनै छलफल भएको छैन ।

आगामी फागुन २० गते २० जना राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएर बिदा हुँदैछन् । कार्यकाल सकिएर बिदा हुन लागेका मध्ये विमला राई पौड्याल राष्ट्रपतिबाट मनोनित सांसद हुन् । उनको ठाउँमा राष्ट्रपतिबाटै मनोनित भएर अर्को सांसद आउँछन् । बाँकी १९ पदका लागि निर्वाचन हुने छ ।

पद रिक्त हुनु एक महिना अगावै चुनाव गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा मतदान तोकिएको छ । यससँगै सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच छलफल सुरु भएको नेताहरुले बताएका छन् ।

नेपाली कांग्रेसकी नेतृ अनिता देवकोटा पनि राष्ट्रिय सभाको चुनावका विषयमा दलहरुका बीचमा अनौपचारिक संवाद सुरु भएको बताउँछिन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोप २८ मा सहभागी हुन युएई जानु अगाडि शीर्ष नेताहरुको बीचमा राष्ट्रिय सभाको चुनावको विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्ड आइतबार मात्र स्वदेश फर्किएका छन् । आन्तरिक गृहकार्य भइरहेको र छिट्टै गठबन्धनमा छलफल हुने नेताहरु बताउँछन् ।

 

 

प्रकाशित : 4 December, 2023

प्रतिक्रिया दिनुहोस्