प्रधानमन्त्रीद्धारा सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको टिप्पणी

काठमाडौँ । मंसिर २०, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सचिवहरुलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको टिप्पणी गर्नु भएको छ ।
बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रममा उनले सोचेजस्तो शासकीय सुधारको काम गर्न नसकिएको भन्दै अब सरकारको ध्यान समग्र शासकीय प्रणाली सुधारमा केन्द्रित हुने बताए ।
‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब खाली प्रशासकीय मात्रै होइन ।
समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामी छलफल गरेका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौं ।
हामीले सेवा प्रवाहको क्षेत्रमा साना–साना कामहरुमा सुधार गरेर अनि ठूला–ठूला कामहरुलाई प्रायोटाइज गरेर जान जरुरी छ ।’
आफूले पहिलोपटक सचिवहरुलाई दिएको निर्देशनको परिणाम निराशाजनक रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका उपाय खोज्नैपर्ने पनि बताए ।
‘मैले पहिलोचोटी सचिवहरुलाई निर्देशन दिँदैगर्दा जुन ठोस रुपमा प्रस्तुत गर्ने कोशिस गरिएको थियो ।
त्यो नतिजा र परिणाममा हेर्दा त्यो उत्साहजनक होइन, निराशाजनक रह्यो । भनेजसरी अगाडि जान सकेन । त्यसकारण कहीँ न कहीँ यसमा समस्या छ र यसको समाधान गर्ने उपाय पनि हामीले खोज्नै पर्नेछ,’ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले २०७९ पुस २९ गते सरकारका सचिवहरुसँग बैठक गरी ३० बुँदे निर्देशन दिएका थिए ।
आफूले दिएको सोही निर्देशन स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले तत्काल जनतालाई सेवा प्रवाह गर्न र जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न मातहतका सबै निकायलाई निर्देशनसमेत दिए ।