व्यवसायीहरुद्धारा भ्याटको विरोध गर्दै आलु प्याजको बिक्री कारोबार बन्द

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २०, सरकारले भ्याट लगाएर दुःख दिएको भन्दै व्यवसायीहरुले आलु र प्याजको व्यापारमा हड्ताल गरेका छन् ।

व्यवसायीहरुको हड्तालका कारण बजारमा प्याज र आलुको हाहाकार हुन सक्ने जोखिम बढेको छ ।

बजेटमा घोषणा हुँदा आयातीत आलु र प्याजमा मात्रै भ्याट लाग्ने भनिए पनि अहिले आएर स्थानीय किसानसँग खरिद गरेको वस्तुको कारोबारमा समेत भ्याट जोडेर दुःख दिइएको व्यवसायीहरुको आरोप छ ।

भ्याटका कारण कारोबार गर्नै नसक्ने अवस्था आएपछि आलु र प्याजको कारोबार गर्न नसकिएको आलु प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले बताए ।

भ्याटमा नगएको भन्दै व्यवसायीको फर्ममा अनुगमन गर्ने, कारबाही गर्ने जस्ता कार्य आन्तरिक राजस्व कार्यालयबाट भएको उनको आरोप छ ।

चालु आर्थिक वर्षको बजेटमा सरकारले आलु र प्याजको कारोबारमा भ्याट (मूल्य अभिवृद्धि कर १३ प्रतिशत) लगाउने निर्णय गरेको थियो । बजेटको यस्तो घोषणाको विरोध भए पनि सरकारले फिर्ता लिएको थिएन ।

देशैभरका व्यापारीहरुले आलु र प्याजको कारोबार झण्डै तीन दिनदेखि रोकेको कालीमाटी बजार विकास समितिले जनाएको छ । बजारमा आलु प्याज आयात नभएको र आलु तथा प्याजको स्टलहरु खाली भएको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।

व्यवसायीको हड्तालका कारण बजारमा आलु र प्याजको मूल्यमा मनपरी भएको छ । अभावको कारण देखाउँदै व्यवसायीहरुले मूल्य मनपरी तोकेका छन् ।

बजारमा आलु र प्याजको बिक्री रोकिएकोबारे थाहा नभएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित : 6 December, 2023

प्रतिक्रिया दिनुहोस्