रूसी सेनामा भर्ती भएका कपिलवस्तुका रूपक कार्की पनि असारमै मारिए
काठमाडौँ । मंसिर २१, कपिलवस्तुका रूपक कार्कीले गत असार पहिलो सातातिर घरमा रहेकी आमालाई रूसबाट “यतैबाट सम्पर्क गर्छु तालिमबाट नफर्किंदासम्म तपाईंहरू नआत्तिनु होला” यसै भन्दै फोन गरेका थिए।
कपिलवस्तुको बाणगंगा–१ मन्द्रेली टोलका मानबहादुर र लक्ष्मी कार्कीका २४ वर्षीय रूपक एक्लो छोरा थिए। दिदी सरलाको केही वर्ष पहिले विवाह भइसकेको थियो।
पढाइमा तेज भए पनि घरको आर्थिक अवस्था कमजोर भएकाले १२ कक्षा पास गरेपछि नै रूपकले रोजगारीका लागि विदेश जाने योजना बनाएका थिए।
दक्षिण कोरिया जाने योजनाका साथ भाषा सिकिरहेका रूपकले विद्यार्थी भिसामा सजिलै रूस जान पाइने थाहा पाएपछि रूसको प्रक्रिया थालेका थिए।
२०७८ सालको चैततिर प्रक्रिया सुरू गरेका रूपक साढे दुई महिनामै २०७९ जेठमा रूस उडेका थिए। रूपकसँगै बाग्लुङका युवराज पौडेल पनि एकैसाथ रूस गएको जानकारी प्राप्त भएको छ ।
काठमाडौंको ड्रीम इन्टरनेसनल कन्सल्टेन्सीमार्फत् विद्यार्थी भिसामा रूस गएका रूपकले एक वर्ष होटलमा काम गरे। होटलमा काम गर्दा घरमा आमाबुवासँग नियमित सम्पर्क गरिरहन्थे। गत जेठमा रूसी सेनामा भर्ति भएपछि भने घरमा बुवाआमासँग पनि सम्पर्क पातलो बनेको थियो।
होटलमा काम गर्दा आम्दानी थोरै भए पनि सुरक्षित हुने भएकाले बुवा आमा ढुक्क थिए। होटलको काम छोडेर सैनिकमा भर्ती भएपछि असुरक्षाको भयले आमाबुवा त्रसित थिए।
तर पनि बेलाबेला फोन गर्दा आफूले सैनिक तालिम लिइरहेको र सुरक्षित रहेको भन्दै बुवाआमालाई चिन्ता नलिन बारम्बार सम्झाइरहन्थे।
असार पहिलो सातातिर फोन गर्दा पनि उनले त्यसै गरी आमालाई सम्झाउँदै तालिम सकिएपछि आफैँले फोन गर्ने वाचा गरेका थिए।
रूस र युक्रेनबीचमा भइरहेका युद्धका खबरले लक्ष्मी र मानबहादुरको मन आत्तिन्थ्यो। रूपकले आफू तालिममा जाने बताएको र सम्पर्क गर्ने कुनै माध्यम नभएकाले बुवाआमालाई रूपकले गर्ने फोन पर्खिनुको विकल्प थिएन। आमालाई तालिमबाट फर्किएपछि फोन गर्ने बताएका रूपकको त्यसपछि कहिल्यै फोन आएन।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति देखेपछि पनि कार्की परिवार छाँगाबाट खसेजस्तै भएको छ। सैन्य तालिमपछि फोन गर्छ भन्दै फोनको पर्खाइमा बसेका बुवाआमाले अझै पनि छोराको मृत्यु भयो होला भनेर स्वीकार गर्न सकेका छैनन्।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै युक्रेनविरूद्धको युद्धमा रूसी सेनाकातर्फबाट लडिरहेका ६ जना नेपाली नागरिक मारिएको पुष्टि गरेको छ।
परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा रुसी सेनामा कार्यरत रूपकसहित गोरखाका सन्दीप थपलिया, पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलाम नगरपालिका–५ का गंगाराज मोक्तानको मृत्यु भएको जनाएको छ। विज्ञप्तिमा उनीहरूको मृत्यु के कसरी कहाँ भयो भन्ने जानकारी भने दिइएको छैन।