चितवनमा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी
काठमाडौँ । मंसिर २१, चितवन जिल्लामा यसवर्ष धान उत्पादनमा १० प्रतिशतले कमी आएको छ ।
यहाँ २६ हजार तीन सय ५२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख १२ हजार एक सय ९० मेट्रिक टन धन उत्पादन भएको छ ।
यसवर्ष धानको उत्पादकत्वमा समेत कमी आएको छ । प्रतिहेक्टर चार दशमलव २६ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।
गत वर्ष २७ हजार आठ सय ९८ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । त्यसमा एक लाख २४ हजार सात सय ६२ मेट्रिकटन धान उत्पादन भएको कार्यालयका योजना अधिकृत उमराज अर्यालले जानकारी दिए ।
सो वर्ष उत्पादकत्व चार दशमलव छ मेट्रिकटन प्रतिहेक्टर धान उत्पादन भएको थियो । उनका अनुसार गत वर्षको तुलनामा यसवर्ष १२ हजार पाँच सय ७२ मेट्रिकटन धान उत्पादन घटेको हो । धान रोप्ने समयमा वर्षात् नहुनु र धानमा रोगकीरा लाग्नुका कारण यसवर्ष उत्पादनमा कमी आएको अर्यालले बताए ।
समयमा वर्षात् हुन नसक्दा पश्चिम चितवनका सबै क्षेत्रमा रोपाइँ हुन नसकेको उनले जानकारी दिए । धानको उत्पादन हुने समयमा कालो पोके, घाँटी मरुवा, गवारो जस्ता समस्या देखिएको उनले बताए ।