सुनसरी ४ मा अर्थमन्त्री कार्की विजयी

सहयात्रा टिभी

सुनसरी । प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं ४ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेद्वार ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका छन् ।

आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले वाम गठबन्धनका तर्फबाट उम्मेद्वार रमेश श्रेष्ठलाई छ हजार ५९७ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । अर्थमन्त्री समेत रहेका कार्कीले ३२ हजार ३४७ मत पाएका छन् । श्रेष्ठले २५ हजार ७५० मत पाए ।

त्यसैगरी प्रतिनिधिसभा सदस्यको सुनसरी क्षेत्र नं १ मा वाम गठबन्धनका उम्मेद्वार जयकुमार राई विजयी भएका छन् । आइतबार राति १० बजे सार्वजनिक भएको मतपरिणामअनुसार उनले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेद्वार भएका संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई २२ हजार ४०५ मतले पराजित गर्दै विजयी भएका हुन् । एमालेका उम्मेद्वार जयकुमारले ४४ हजार ५२८ मत पाएका छन् । अशोक राईले २२ हजार १२३ मत पाएका छन् ।

सुनसरी क्षेत्र २ (क) मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उमेदवार सर्वध्वज सावाँ लिम्बू विजयी भएका छन् । आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले २४ हजार ६७४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमकर्ण पौडेलले १९ हजार २४५ मत प्राप्त गरेका छन् । सुनसरी प्रदेशसभा क्षेत्र १ (ख) मा वाम गठबन्धनका तर्फबाट उम्मेद्वार भीम आचार्य विजयी भएका छन् ।

आज बिहान सार्वजनिक भएको मतपरिणामअनुसार उनले २० हजार २११ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बुद्धि कटुवालले १२ हजार ९६४ मत प्राप्त गरेका छन् । यसैगरी सुनसरी क्षेत्र ३ (क) मा वाम गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेद्वार लिलम बस्नेत विजयी भए । उनले १९ हजार ६६५ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कुमारजंग थापाले १७ हजार ६८१ मत प्राप्त गरेका छन् ।

प्रकाशित : 11 December, 2017

प्रतिक्रिया दिनुहोस्