रूसी सेनामा कार्यरत नेपालीको रिहाइका लागि युक्रेनको ‘पोजिसन’

सहयात्रा टिभी

काठमाडौँ । पुस १, रूसी सेनामा भर्ना भएर युद्ध मैदानबाट कब्जामा परेका नेपालीलाई छाड्नका लागि युक्रेनले नेपालसँग पोजिसन राखेको छ ।

रूसी सेनामा कार्यरत नेपालीको रिहाइका लागि नेपालका तर्फबाट परराष्ट्र मन्त्रालयले चालिरहेको कूटनीतिक पहलमा युक्रेनले ‘पोजिसन’ लिएको भनिए पनि त्यो कुन प्रकृतिको हो भन्ने खुलेको छैन ।

कूटनीतिक स्रोतका अनुसार नेपालले परराष्ट्र मन्त्रालय मार्फत दिल्लीमा रहेको युक्रेनी दूतावास र जर्मनीमा रहेको आफ्नो दूतावास मार्फत उनीहरूको रिहाइका लागि पहल गरिरहेको छ ।

नेपालले गरेको पत्राचारमा युक्रेनले अहिलेसम्म औपचारिक जवाफ नपठाएको, तर कूटनीतिक च्यानलसँग नेपालबाट केही प्रतिबद्धताको खोजी गरेको स्रोतको दाबी छ ।

हाल रूसी सेनामा भर्ती भएर युक्रेनी सुरक्षा बलको कब्जामा परेका नेपालीको संख्या चार पुगेको छ भने ६ जनाको मृत्यु भइसकेको छ । यो जानकारीमा आएको तथ्यांक भए पनि अन्य रूसी सेनामा भर्ना भएका नेपालीको संख्या अझै यकिन भइसकेको छैन ।

परराष्ट्र मन्त्री एनपी साउदले युक्रेनी सुरक्षा बलको कब्जामा रहेका चार नेपालीको रिहाइका लागि मन्त्रालयले कूटनीतिक पहल थालेको छ । यद्यपि, उनले के पहल थालेको हो र के प्रगति भइरहेको छ भन्ने बारेमा स्पष्ट बताउन चाहेनन् ।

 

प्रकाशित : 17 December, 2023

प्रतिक्रिया दिनुहोस्