प्राधिकरणले त्रिशुली थ्री बी आयोजनाको निर्माणकर्तासँग ठेक्का तोड्यो

सहयात्रा टिभी

काठमाडौँ । पुस २, नेपाल विद्युत प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको निर्माणकर्तासँग ठेक्का तोडेको छ ।

आयोजना निर्माणमा चरम ढिलाइ र लापरवाही गरेको भन्दै प्राधिकरणको सहायक कम्पनी माथिल्लो त्रिशुली थ्री बी जलविद्युत कम्पनीले चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँगको ठेक्का सम्झौता तोडेको हो ।

रसुवा र नुवाकोटमा निर्माणाधीन उक्त आयोजनाको करिब ६६ प्रतिशत काम सकिएको छ र पछिल्लो समय काम ठप्प छ ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणको जिम्मा लिएको सुइफा ग्रुपले १ वर्षदेखि प्रगति देखिने गरी काम नै गरेको थिएन ।

ठेक्का तोडेर बैंक ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी समेत जफत गरिएको प्राधिकरणले जनाएको छ । ‘पटक–पटक कामलाई गतिमा दिन निर्देशन दिंदा पनि ठेकेदारले अटेरी गरेपछि ठेक्का तोडेका हौं’, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘धेरै पटक मौका दिँदा पनि नसच्चिएपछि सम्झौता बमोजिम नै ठेक्का तोडेका हौं ।’

बाँकी काम गर्न पुसभित्रै अर्को ठेक्का लगाउन सूचना प्रकाशित गरिने घिसिङले बताए ।

ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नुपर्ने थियो । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत बनिरहेको आयोजनाको प्रवर्द्धक कम्पनीमा १ लाख ५४ हजार ५ सय ५९ जना सर्वसाधारणको सेयर छ ।

नयाँ वर्ष मनाउन २०७६ माघमा घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ महामारीका कारण फर्कन नसक्दा र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा आयोजनाको निर्माण करिब १५ महिना ठप्प भएको थियो ।

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनः सुरु भएकोमा फेरि काममा आलटाल भइरहेको थियो । फागुन २०७७ भित्र सक्ने लक्ष्य राखी निर्माण सुरु गरिएको आयोजना कोराना महामारीका कारण काम रोकिएपछि म्याद थप गरेर असोज २०८० भित्र सक्ने नयाँ लक्ष्य तय भएको थियो ।

 

प्रकाशित : 18 December, 2023

प्रतिक्रिया दिनुहोस्