टिभीको ‘प्राइम टाइम’ मा कण्डमको विज्ञापन रोक
नयाँदिल्ली । टेलिभिजनहरुले समाचार दिनु अगाडिको सर्वाधिक हेरिने समय (प्राइम टाइम) मा कण्डमको विज्ञापन प्रशारण गर्न नपाउने भएका छन् ।
भारतीय सरकारले सो समयको टिभी विज्ञापनमा प्रतिबन्ध लगाएको जनाएको छ । त्यस समयमा बालबालिकाले पनि टिभी हेर्ने भएकाले त्यस समयमा विज्ञापन गर्न नमिल्ने गरी सरकारले नियम बनाएको बताइएको छ । भारतको सूचना तथा प्रशारण मन्त्रालयले सो नियमसहितको जानकारी मंगलबार दिएको छ । भारतका सबै टिभीहरुलाई बिहान र बेलुकाको सो समयमा विज्ञापन गर्न नपाउने गरी उक्त मन्त्रालयले सूचना जारी गरेको बताइएको छ ।
भारतमा करीब ९ सय टेलिभिजन च्यानल छन् । ती टिभीहरुका नाममा सो सूचना जारी गरिएको समाचारमा जनाइएको छ । सो समयमा भारतका बालबालिका मात्र नभएर सबैजसो परिवारले नै टिभी हेर्ने र यसरी परिवार सँगै बसेर टिभी हेर्दा अशिष्ट लाग्ने भएकोले त्यस समयमा नभएर अरु नै बेला मात्र विज्ञापन गर्न मन्त्रालयले सूचना जारी गरेको समाचारमा जनाइएको छ ।