आर्थिक वृद्धि ६ प्रतिशत हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना
काठमाडौं । पुस १३, अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ६ प्रतिशत हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थतन्त्र बिस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको उनको भनाइ छ । उनले भने, ‘अहिले मूल्यवृद्धि पनि साढे ५ प्रतिशतमा झरेको छ । जसका कारण आर्थिक वृद्धिको ६ प्रतिशतको लक्ष्य पनि प्राप्त गर्ने सम्भावना देखिएको छ ।’
उनले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गरे । सामाजिक सञ्जालमा नकारात्मक कुरा भएपनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो ।