राप्ती नदीमा र्याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल
काठमाडौं । पुस १५, लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ देउखुरीमा रहेको राप्ती नदीमा र्याफ्टिङ सञ्चालनका लागि गरिएको परीक्षण सफल भएको छ ।
गढवा गाउँपालिका र राप्ती गाउँपालिकाले गत शुक्रबारदेखि दुई दिनसम्म गरेको परीक्षण सफल भएको पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।
र्याफ्टिङ सञ्चालनको अध्ययन तथा परीक्षण कर्णाली र्याफ्टिङ एण्ड एण्डभेन्चर प्रालिका प्रबन्ध निर्देशक तथा सञ्चालक देवराज जैसी नेतृत्वको टोलीले गरेको थियो ।
नेपालका पश्चिमी भूभागमा पर्ने प्राय सबै नदीहरुमा र्याफ्टिङको अध्ययन गरी सञ्चालन समेत गरेका जैशीले राप्ती नदीको भालुबाङदेखि सिसहनिया पुलसम्म ९ महिनासम्मै र्याफ्टिङ सञ्चालन गर्न सकिने बताए ।
परीक्षणको क्रममा लुम्बिनी प्रदेश सांसद इन्द्रजित चौधरी, गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट लगायतले र्याफ्टिङ चढेका थिए ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आदिवासी जनजातीलाई जलपर्यटन व्यवसायमार्फत् आत्मनिर्भर बनाउने उद्देश्य रहेको भन्दै त्यसका लागि पालिकाले सहयोग गर्ने बताए ।