पर्यटन प्रवर्द्धनमा सहयोग गर्न ठमेलमा आज सडक महोत्सव

सहयात्रा टिभी

काठमाडौँ । पुस १५, अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाण्डौको प्रमुख पर्यटकीय नगरी ठमेलमा आज सडक महोत्सव हुँदैछ ।

ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज बेलुका ठमेलमा सडक महोत्सव हुन लागेको हो ।

यसले कोरोनाबाट असर पुगेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलको पर्यटन क्षेत्रको विकासका लागि ठमेलमा रहेको सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिनुभयो ।

सडक महोत्सव सम्पन्न गर्न २२ लाख रुपैयाँको हाराहारीमा खर्च हुने परिषद्का अध्यक्ष शर्माले बताउनुभयो ।

नेपाल आएका पर्यटकमध्ये झण्डै ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेको परिषद्ले जनाएको छ । ठमेलभित्र झण्डै दुई हजार व्यवसायी तथा घरधनी रहेका छन् ।

ठमेल पर्यटन विकास परिषद्का महासचिव राजीव पाण्डेले ठमेल क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि परिषद्ले विभिन्न निकायसँग छलफल गरिरहेको बताउनुभयो ।

 

प्रकाशित : 31 December, 2023

प्रतिक्रिया दिनुहोस्