फिलिपिन्समा सैनिक कानुनको अवधि थपियो

सहयात्रा टिभी

मनिला । फिलिपिन्सको दक्षिणी मिन्दानाओ प्रान्तमा जारी सैनिक कानुनको अवधि थप एक वर्षका लागि थपिएको छ । उक्त प्रान्तमा शान्ति सुरक्षाको अवस्थाको मूल्यांकन गर्दै अर्काे एक वर्ष सो सैनिक कानुन जारी राख्नुपर्ने भन्दै उक्त कानुन बुधबारको संसद बैठकमा प्रस्तुत गरिएको थियो ।

यसैसँगै फिलिपिन्समा यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्तेको अर्को जीत भएको रूपमा उनका समर्थकहरूले लिएका छन् । एक वर्षभन्दा लामो समयदेखि संसदमा चर्चामा रहेको यो कानुन बुधबार पुनः एक वर्षका लागि थप भएको छ । सो क्षेत्रमा जारी रहेको यस कानुनको अवधि अगामी डिसेम्बर ३१ सम्म रहेको थियो ।

अब उक्त मितिबाट अर्को वर्षको डिसेम्बरसम्मका लागि थप भएको छ । आगामी सन् २०१८ को डिसेम्बरसम्मका लागि उक्त कानुन लम्ब्याउन संसदमा अनुरोध गर्दै राष्ट्रपति डुटेर्तेले संसदसँग आग्रह गरेका थिए । राष्ट्रपतिको यस आग्रहको विद्रोही तथा संसदका विपक्षी दलहरूले विरोध पनि गर्दै आएका थिए ।

यस कानुनलाई सिनेट, प्रतिनिधिसभा दुवैले पारित गरेको छ । यस कानुन पारित गर्नका लागि संसदमा भएको मतदानमा २४७ जना सांसदले पक्षमा र २७ ले विपक्षमा मतदान गरेका थिए । करीब दुई करोड व्यक्तिको बसोबास रहेको यस मिन्दानाओ प्रान्तको दक्षिणी शहर मराबी सशस्त्र इस्लामिक आतंककारीहरूले कब्जा गर्दै आएका थिए । विद्रोहीको कब्जामा रहेको उक्त शहरलाई पछि सरकारले सैनिक कार्बाहीमार्फत फिर्ता गरेको थियो ।

प्रकाशित : 14 December, 2017

प्रतिक्रिया दिनुहोस्