चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाडियो

काठमाडौं । पुस २०, चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालिएको छ ।
एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मङ्गलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो ।
नयाँ पम्प फेरेपछि हिउँदमा पनि पानी पठाउन सकिन्छ भनेर परीक्षणका रुपमा पानी नहरमा पानी पठाउन थालिएको हो । नारायणी लिफ्ट सिँचाइमा चार नयाँ मेसिन छन् ।
चार घनमिटरका दुई र दुई घनमिटरका दुई छन् । पम्पबाट प्रतिसेकेन्ड दुई हजार लिटर र अर्कोबाट प्रतिसेकेन्ड चार हजार लिटर पानी तान्ने स्रोतले जनाएको छ ।
भरतपुर-१ स्थित नारायणी नदी नजिकै रहेको नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्प हाउसमा रहेका ४० वर्ष पुराना चार पम्प यस वर्ष फेरिएको हो ।
पुराना र जीर्ण अवस्थाका पम्पले पानी तान्न समस्या भएपछि यसलाई आधुनिकीकरण गर्न रु २६ करोड ३२ लाख ४३ हजार एक सय ५१ खर्च गरिएको छ । किसानको मागअनुसार, गहुँ बालीलाई लक्षित गर्दै नारायणी लिफ्टको ‘बी’ क्यानलबाट पानी छाडिएको जानकारी प्राप्त भएको छ ।