जर्मनीका लेजेण्ड बेकनबाउरको निधन

सहयात्रा टिभी

एजेन्सि । पुस २४, जर्मनीका फुटबल लेजेण्ड फ्रान्स बेकनबाउरको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले जर्मन न्युज एजेन्सी डीपीएमार्फत स्टेटमेन्ट जारी गर्दै बेनबाउरको निधन भएको र त्यसबाट आफूहरु दु:खी भएको जनाएको छ ।

विश्व फुटबलकै उत्कृष्ट मध्येका एक बेकनबाउरले जर्मनीबाट दुईपटक विश्वकप जितेका थिए । उनले सन् १९७४ मा आफ्नो कप्तानीमा पश्चिम जर्मनीबाट विश्वकप उपाधि जितेका थिए । यस्तै १९९० मा प्रशिक्षकको रुपमा विश्वकप जितेका थिए ।

उनी खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने तीनमध्ये एक हुन् । उनी बाहेक ब्राजिलका मारियो जागोला र फ्रान्सका डिडियर डेसच्याम्पले पनि दुई भूमिकामा उपाधि जितेका थिए । त्यसमध्ये पहिलो जागोलोको केही दिनअघि मात्र निधन भएको थियो । बेकनबाउरले पश्चिम जर्मनीका लागि १०३ खेल खेलेका थिए ।‘डेर केइसर’ उपनामले परिचित बेकनबाउरले सन् १९७२ मा युरो कप पनि जितेका थिए । यस्तै दुई पटक बालोन डे ओर पनि जितेका थिए ।

मुख्यगरी डिफेन्समा खेल्ने उनले जर्मन महारथी बायर्न म्युनिखका लागि ५८२ खेल खेलेका छन् र बायर्नमा पनि खेलाडी र प्रशिक्षकको रुपमा लिग जितेका थिए । बायर्न छाडेपछि बेकनबाउरले अमेरिकी क्लब न्युयोर्क कोसमोसका लागि खेलेका थिए । जहाँ नर्थ अमेरिकन सकर लिगमा ब्राजिलका पेलेसँगै उनी पोस्ट ब्वाएको रुपमा थिए ।

प्रकाशित : 9 January, 2024

प्रतिक्रिया दिनुहोस्