राष्ट्रियसभाको उम्मेदवार आनन्द ढुंगानाले २० लाख हिनामिना गरेको उजुरी

सहयात्रा टिभी

काठमाडौं । पुस २४, नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाएको आनन्द ढुंगानाविरुद्ध पार्टी कार्यालयमा उजुरी परेको छ।

कांग्रेसले ढुंगानालाई मधेश प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार बनाएको छ। ढुंगानाविरुद्ध उनकै निर्वाचन क्षेत्र (धनुषा १)का महाधिवेशन प्रतिनिधि भोला पंजियारले रकम हिनामिना गरिदिएको आरोपमा उजुरी दिएका हुन्।

अनुशासन समितिका संयोजक समेत रहेका ढुंगानाविरुद्ध अघिल्लो राष्ट्रियसभा निर्वाचनमा भोट किन्न भनेर उठाएको १० लाख रुपैँया हिनामिना गरिदिएको र फिर्ता नगरेको आरोपमा पंजियारले उजुरी दिएका हुन्।

अघिल्लो राष्ट्रियसभा चुनावमा पंजियार मधेश प्रदेशबाट उम्मदेवार थिए। त्यतिबेला उनी पराजित भएका थिए।

पंजियारले दलहरुले यसपटकको राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन गर्ने अन्तिम दिन (पुस २२ गते) ढुंगानाविरुद्ध पार्टी केन्द्रीय कार्यालयमा पुगेर उजुरी दिएका हुन्।

पंजियारका अनुसार उनीसँगै त्यत्तिबेला राष्ट्रियसभाका अर्का एक उम्मेदवारको पनि १० लाख रुपैँया पनि ढुंगानाले फिर्ता गरेका छैनन्।

पंजियारले भने, ‘त्यतिवेला भोट किन्न नसकेर मैले हार्नुपर्‍यो र अहिलेसम्म मेरो १० लाख रुपैयाँ पनि फिर्ता भएको छैन, यही कुरा उजुरीमा मैले उल्लेख गरेको छु।’

पंजियारका अनुसार ढुंगानाविरुद्ध उजुरी परेको थाहा पाउँदा पाउँदै देउवाले ढुंगानालाई राष्ट्रियसभा सदस्यको उम्मेद्वार बनाएका हुन्।

कांग्रेस पार्टी केन्द्रीय कार्यालयको सचिवालयले भने यस बिषयमा थप बुझेर मात्रै जवाफ दिने जनाएको छ।

प्रकाशित : 9 January, 2024

प्रतिक्रिया दिनुहोस्