क्यानको जीएम नियुक्तिमा त्रुटी भन्दै अर्का प्रतिस्पर्धी अदालत जाने चेतावनी
काठमाडौँ । पुस २५, नेपाल क्रिकेट संघ क्यानको जनरल म्यानेजर जीएम नियुक्तिमा त्रुटी भन्दै अर्का प्रतिस्पर्धी नवराज कोइरालाले अदालत जाने चेतावनी दिएका छन् ।
जीएमका लागि आवेदन दिएर ११ जनाको सर्टलिस्टमा परेका मध्ये एक नवराज कोइरालाले बुधबार पत्रकार सम्मेलन गर्दै क्यानको पछिल्लो जीएम नियुक्तिको प्रक्रिया सही नभएको भन्दै त्यसलाई नसच्याएर आफू अदालत जाने बताएका हुन् ।
नेपाल क्रिकेट संघ क्यानले सोमबार उत्सव ढुंगानालाई जीएम नियुक्त गरेको थियो । ६८ जनाबाट १४ जनालाई सर्ट लिस्ट गरेको क्यानले ११ जनाको परीक्षा लिएको थियो । त्यसबाट प्रिजेन्टेसन र अन्तर्वार्ताका लागि ७ जना छनोट गरेर त्यसमध्ये उत्सवलाई उपयुक्त ठान्दै क्यानले जीएम बनाएको हो ।
कोइरालाले बलियो नेपाल संस्थाका संस्थापकसमेत रहेका क्यानका सचिव पारस खड्काले त्यही संस्थामा आबद्ध व्यक्तिलाई नै जीएम बनाएकोमा प्रश्न उठाएका छन् ।
जीएमका लागि अन्तर्वार्ता क्यानको अफिसमा नभएर होटलमा लिएको, अफिस समय सकिएपछि लिखित परिक्षा लिएको, सर्टलिस्टको सूची सार्वजनिक नगरेर व्यक्तिगत इमेल मात्र गरेको, प्रिजेन्टेसनका लागि एक दिनको मात्र समय दिएको लगायत त्रुटी उनले उल्लेख गरेका छ ।
कोइरालालाले माछापुछ्रे बैंक र सनराइज बैंकमा प्रमुख कार्यकारी अधिकृत भइसकेका क्षमतावान व्यक्तिलाई समेत पहिलो चरणबाटै हटाइएको आरोप लगाए ।
सोमबार जीएम नियुक्तिपछि क्यान अध्यक्ष चतुरबहादुर चन्दले छनोट प्रक्रियाबाट सक्षम र काम गर्न सक्ने व्यक्तिलाई नै जीएम नियुक्त गरिएको प्रतिक्रिया दिएका थिए ।