संघीय संसदको आगामी अधिवेशनमा पनि विजनेस अभाव हुने

काठमाडौं । माघ ५, संघीय संसदको आगामी अधिवेशनमा पनि विजनेस अभाव हुने देखिएको छ ।
यसअघिको वर्षे अधिवेशनमा पनि सरकारले संसदमा विजनेस नदिएको भन्दै सांसदहरुले नै असन्तुष्टि व्यक्त गरेका थिए ।
संघीय संसदको यसअघि सम्पन्न वर्षे अधिवेशन यता प्रतिनिधि सभामा निर्माण व्यवसायसँग सम्बन्धित एउटा मात्रै विधेयक दर्ता भएकाले आगामी हिउँदे अधिवेशनमा विजनेसको कमी हुने देखिएको हो ।
राष्ट्रिय सभामा भने हालसम्म कुनै पनि नयाँ विधेयक दर्ता नभएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
त्यसैगरी राष्ट्रिय सभामा पनि विधायनसम्बन्धी विधेयक २०८०, शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयसम्बन्धी विधेयक समितिहरुमा विचाराधिन अवस्थामा रहेको र अध्यागमन विधेयक राष्ट्रिय सभामा नै विचाराधिन अवस्थामा रहेको बताए ।
सरकारले माघ तेस्रो साता संसदको हिउँदे अधिवेशन बोलाउने तयारी गरेको छ । त्यसलाई प्रभावकारी बनाउने विषयमा कार्यतालिका नै बनाएर अघि बढ्ने विषयमा संघीय संसद सचिवालयले मस्यौदा नै बनाएर छलफल अघि बढाएको पनि प्रवक्ता गिरीले बताए ।