कोशी प्रदेशलाई ६४ रनले हराउँदै बागमतीको तेस्रो जित
काठमाडौं । माघ ५, ओपनर आशुतोष घिरैयाको शतक र अलराउन्डर ईशान पाण्डेको उत्कृष्ट बलिङमा बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशलाई ६४ रनले हराउँदै तेस्रो जित हात पारेको छ ।
यो जितसँगै बागमती अंक तालिकामा दोस्रो स्थानमा उक्लिएकोछ । जितको लागि २७४ रनको विजयी लक्ष्य पछ्याएको कोशी ४७.१ ओभरमा २९ रनमा अल आउट भयो । कोशीका सुजन थपलियाले ७६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५९ रन जोडे ।
कप्तान अंकित सुवेदीले ६५ बलमा ४ चौका र २ छक्कासहित ५३ रन बनाए । ओपनर सोनु अन्सारी र अंकित सुवेदीले पहिलो विकेटका लागि ११.५ ओभरमा ४५ रन जोड्दै मध्यम सुरुवात दिलाएका थिए ।
सोनु प्रतीक श्रेष्ठको बलमा एज लागेर विकेटकिपर रविन जोशीबाट २१ रनमा क्याच आउट भए । लगत्तै अर्को बलमा मिनाश थापा शून्यमा रन आउट भए ।
तेस्रो विकेटका लागि अंकित र सुजनले ६९ रनको साझेदारी गर्दै जितको झिनो आशा जगाएका थिए । त्यसपछि बागमतीका पार्टटाइम स्पिनर ईशान पाण्डेले उत्कृष्ट बलिङका साथ टोलीको जित पक्का गराए ।
अंकित २५ औं ओभरको तेस्रो बलमा ईशानलाई कभरमा सर्ट खेल्ने धुनमा प्रतिश जिसीबाट क्याच आउट भए ।