संसद सञ्चालनको क्यालेण्डर बनाउन सभामुखलाई सुझाव

काठमाडौं । माघ ७, संसदीय समितिका सभापतिहरुले संसद सञ्चालनको क्यालेण्डर बनाउन सभामुखलाई सुझाव दिएका छन् ।
सभामुख देवराज घिमिरेले आज बोलाएको बैठकमा सहभागी संसदीय समितिका सभापतिहरुले सो सुझाव दिएका हुन् ।
सभामुखसँगको छलफलपछि पत्रकारहरुसँगको कुराकानीमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले संसदलाई क्यालेण्डर बनाएर सञ्चालन गर्दा उपयुक्त हुने सुझाव दिएको बताए ।
समितिका सभापतिहरुले एउटै विषय फरक–फरक समितिमा छलफल हुने गरेको र मन्त्रीहरुलाई पनि समय निकाल्न कठिन भएको बताएका थिए ।
उदाहरणको रुपमा उनीहरुले एनसेल प्रकरणमा राज्य व्यवस्था समिति, लेखा समिति, अर्थ समिति र सञ्चार समितिमा छलफल भइरहेको बताएका थिए ।
बैठकमा सभामुख घिमिरेले संसदीय समितिमा विचाराधिन विधेयकहरु छिटो भन्दा छिटो संसदमा पेस भए सदन चलाउन सहज हुने धारणा राखेका थिए । संसदको हिउँदे अधिवेशन यही माघ १८ देखि बोलाउने तयारी भइरहेको छ ।