चिलीमा पहिरोमा परि ५ को मृत्यु, १५ बेपत्ता, दर्जनौ घर पुरिए

सहयात्रा टिभी

एजेन्सी । चिलीमा लेदोसहितको पहिरोका कारण ठूलो क्षति पुगेको छ । हाल सम्ममा पाँचजनाको ज्यान गएको छ भने १५ जना मानिस बेपत्ता भएका छन् । मुसलधारे वर्षासँगै गएको पहिरोका कारण चिलीको दक्षिणी क्षेत्रमा रहेको पर्यटकीय गाउँका जर्दनौं घरमा क्षति पुगेको हो । लेक क्षेत्रको ग्रामीण बस्ती भिल्ला सान्ता लुसियामा पहिरोका कारण दर्जनौँ घर पुरिएको छ ।

चिलीका राष्ट्रपति मिशेल बाचेलेतले पहिरो प्रभावित क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरेका छन् । लेक क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको छ भने सडकसञ्जाल पनि टुटेको छ । उद्धार तथा राहतको कामलाई तीब्र र प्रभावकारी बनाउन आदेश दिएको राष्ट्रपति बाचेलेतले बताएका छन् ।

चिलीको राजधानी सान्टियागोबाट ११ सय किलोमिटर दक्षिणमा रहेको गाउँमा पहिरोले नोक्सानी गरेको हो । लगातारको वर्षसँगै पहाडबाट लेदोसहितको पहिरो गएको हो । गएको २४ घण्टा भन्दा लामो समयदेखि त्यस क्षेत्रमा मुसलधारे पानी परिरहेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

गाउँका केही मानिसलाई हेलिकप्टर मार्फत उद्धार गरी नजिकको बजार चाइटेन लगिएको छ । अहिले पनि उद्धार तथा हराएकाको खोजी कार्य भइरहेको जनाईको छ ।

प्रकाशित : 17 December, 2017

प्रतिक्रिया दिनुहोस्