सभामुखले संसदको बजेट बढाउन  प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट्ने

सहयात्रा टिभी

काठमाडौँ । माघ १०, संघीय संसदका पदाधिकारीहरु संसदको बजेट अपर्याप्त रहेको निष्कर्षमा पुगेका छन् ।

यही निष्कर्षसहित सभामुख देवराज घिमिरेसहित संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई सामूहिक भेटेर बजेटको आकार बढाउन आग्रह गर्ने भएका छन् ।

सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट्ने मिति र समय भने तय भइसकेको छैन, तर भेट्नका लागि समय मिलाउने प्रयास भइराखेको छ ।

संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार गत आर्थिक वर्षमा एक अर्ब ८२ करोड बजेट माग गरेकोमा सरकारले एक अर्ब २२ करोड मात्र दिएको थियो ।

आगामी आर्थिक वर्षका लागि एक अर्ब ८७ करोड बजेट आवश्यक पर्ने संसद सचिवालयको आकलन छ । बजेट सिलिङको तयारी भइरहेकाले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेटेर बजेटको आकार बढाउन आग्रह गर्न लागिएको हो ।

सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा मंगलबार सभामुख घिमिरेसहित राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरुको छलफल थियो ।

उक्त छलफलमा संसदको बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई संयुक्त रुपमा भेटेर आग्रह गर्ने सहमति भएको थियो । ‘सहमति अनुसार सभामुखले समय मिलाउनुहुन्छ ।

 

प्रकाशित : 24 January, 2024

प्रतिक्रिया दिनुहोस्