मोरङमा हिउँ चितुवा भेटिएको घटनाप्रति संरक्षणकर्मीद्धारा चिन्ता व्यक्त

सहयात्रा टिभी

काठमाडौं । माघ १०, हिजो मोरङको उर्लाबारीमा हिउँ चितुवा फेला परेको घटनाप्रति संरक्षण अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।

४ हजार मिटरभन्दा बढी उचाइमा विचरण गर्ने हिउँ चितुवा १ सय ५० मिटरको उचाइमा भेटिनु चिन्ताको विषय भएको हिउँ चितुवाबारे लामो समय अनुसन्धान गरेका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक करन शाहले बताउनुभयो ।

उहाँका अनुसार खाना खोज्दै वा अरू कारणले हिउँ चितुवा मोरङको उर्लाबारीमा आइपुग्न असम्भवजस्तै छ । त्यसैले यो चोरी सिकारी वा कुनै किसिमबाट मानिसले ल्याएको हुन सक्ने उहाँको अनुमान छ ।

चोर सिकारीले जिउँदै हिउँ चितुवा समातेर अन्यत्र लैजाने घटना यसअघि नदेखिएकोले यो घटनाबाट शङ्का बढेकोले अनुसन्धान गर्नुपर्ने प्राध्यापक शाहले बताउनुभयो ।

हिजो बाँसघारीमा लुकेको अवस्थामा स्थानीयले देखेर खबर गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले हिउँ चितुवालाई बेहोस पारी नियन्त्रणमा लिएको थियो ।

 

प्रकाशित : 24 January, 2024

प्रतिक्रिया दिनुहोस्