थुनुवालाई हत्कडीसहित भाग्न र लुक्न सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध मुद्दा

सहयात्रा टिभी

काठमाडौं । माघ १५, जिल्ला अदालत, काठमाडौं परिसरबाट भागेका थुनुवालाई सहयोग गरेको आरोपमा ३ जनाविरुद्ध कारबाही प्रक्रिया अघि बढेको छ ।

अदालतबाट १८ पुसमा हत्कडीसहित भागेका ठगी मुद्दाका थुनुवा कमल खड्कालाई भाग्न र लुक्न सहयोग गरेको आरोपमा प्रहरीले मोहन तामाङ, रोनिष तामाङ र पारस तामाङलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार, पक्राउ परेकामध्ये मोहन, रोनिष र पारसले खड्काको हत्कडी खोल्न र लुकाउन सहयोग गरेका थिए ।

‘हत्कडीसहित भागेलगत्तै उनीहरुसँग फोन सम्पर्क भएको पनि देखिन्छ, त्यसपछि उम्काउन र भाग्न सल्लाह दिएर डेरा कोठा उपलब्ध गराएर आश्रय दिएको खुलेको छ’, उनले भने, ‘बयानमा पनि उनीहरुले कसुर स्वीकारेका छन् ।’

ठगी मुद्दामा ८ नम्बर इजलासको अगाडि कुर्सीमा बसेर प्रहरी मुद्दाको कागज लिन गएका बेला कमल फरार भएका थिए । उनले प्रहरीसँगको बयानमा ‘भोलि फेरि उपस्थित हुनुपर्ने थाहा पाउँदा लामो समय थुनामा बस्नुपर्ने भयो भन्ने लागेर’ भागेको भनेका छन् ।

त्यसपछि त्यहीँ भेट भएका रिल्दु तामाङसँग कोठामा बसेको उनले भनेका छन् । पछि प्रहरी आउनसक्छन् भन्ने भएपछि होटलमा बस्नु भन्ने सुझाव अनुसार जडिबुटीस्थित दोलखाली होटलमा बसेको उनले बताएका छन् । त्यहीँबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यसपछि प्रहरीले उनलाई भाग्न सहयोग गर्ने अरु तीन जनालाई पनि नियन्त्रणमा लिएको थियो । प्रहरीले यो विषयमा अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सरकारी वकिलले अदालतमा समेत मुद्दा दायर गरेको छ ।

 

प्रकाशित : 29 January, 2024

प्रतिक्रिया दिनुहोस्