नेपालमा पनि अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस

सहयात्रा टिभी

काठमाण्डौं । ‘सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार, हाम्रो सरोकार’ भन्ने नारासहित विविध कार्यक्रमको आयोजना गरी आज अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस देशभर मनाइँदैछ ।

दिवसका अवसर पारेर श्रम तथा रोजगार मन्त्रालयले आज यहाँ प्रभातफेरी र सभाको आयोना ग¥यो । सभामा श्रम तथा रोजगारमन्त्री फर्मुल्लाह मन्सुरले विविध कारणले विदेशिएका नेपाली आप्रवासी कामदारको अधिकारप्रति सरकार संवेदनशील रहेको बताएका छन् । नेपाली कामदारको प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौताका लागि सरकारले विशेष पहल गरिरहेको र हालै मात्र जोर्डनसँग श्रम सम्झौता गर्न सफल भएको जानकारी दिए ।

श्रम तथा रोजगार राज्यमन्त्री डिल्ली चौधरीले नेपालको विद्यमान श्रम गन्तव्यलाई विकेन्द्रित गर्दै विकसित मुलुकमा कामदार पठाउन मन्त्रालयले अध्ययन अघि बढाएको बताए । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले आजबाट आयोगले वैदेशिक रोजगार पीडितको उजुरी लिन शुरुवात गरेको जानकारी दिए । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मण मैनालीले वैदेशिक रोजगारको ठगी घटाउन र पीडित कामदारलाई न्यायमा पहुँच बढाउन मन्त्रालयले सुधारका कार्यक्रम शुरु गरेको बताए ।

सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसघंले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर अन्तर्राष्ट्रिय आप्रवास दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । विदेशमा काम गर्न जाँदा आप्रवासी कामदारमाथि पारिश्रमिक तथा अन्य सेवा सुविधा, न्यूनतम मानवअधिकार, विदेशी नागरिक भएको कारण विभेद नहोस् भन्ने उद्देश्यसहित यो दिवस विश्वभर मनाइने गरेको छ ।

युवालाई स्वदेशमै रोजगारको व्यवस्था गर्न जोड

वैदेशिक रोजगारमा गएका नेपाली युवा विभिन्न समस्याबाट ग्रसित बन्ने गरेकाले उनीहरुलाई स्वदेशमा नै रोजगारको व्यवस्था गरिनु अपरिहार्य भएकामा जोड दिइएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले राजनीतिक स्थिरता र विकाससँगै विदेशिएका युवालाई स्वदेशमा फर्काउन सकिए देशको दिगो विकास हुनसक्ने धारणा राखेका छन् । वैदेशिक रोजगारीमा गएका युवाले भोगेका समस्याको निराकरण गर्न तथा वैदेशिक रोजगार सुरक्षित, व्यवस्थित एवम् मर्यादित बनाउन सबैको एकताबद्ध प्रयास आवश्यक हुनेमा उनीहरुको जोड थियो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सभापति बैनबहादुर क्षेत्री, नेपाल पत्रकार महांघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, नेपाल मानवअधिकार आयोग पोखरा कार्यालयका मानवअधिकार अधिकृत मोहन काफ्लेले युवालाई स्वदेशमा नै रोजगारीको व्यवस्था गर्नु वर्तमानको आवश्यकता भएको बताएका छन् ।

यसअघि अन्तर्राष्ट्रिय आप्रवासन दिवस मूल समारोह समिति कास्कीको आयोजनामा गरिएको पोखराको सिर्जना चोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रभातफेरी गरिएको थियो ।

प्रकाशित : 18 December, 2017

प्रतिक्रिया दिनुहोस्