नवप्रवर्द्धक उद्यमी प्रोत्साहन गर्न सरकारले सहुलियत कर्जा दिने घोषणा

सहयात्रा टिभी

काठमाडौं । माघ १९, नवप्रवर्द्धक उद्यमी प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले दिने घोषणा गरेको ‘स्टार्टअप’ उद्यम कर्जाका लागि प्रस्ताव आह्वान गरिएको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यमीसँग यस्तो प्रस्ताव मागेको हो । यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि २०८०, ११ माघमा स्वीकृत गरेको थियो ।

कार्यविधिले सरकारद्वारा यस वर्षको बजेटमा राखिएको स्टार्टअप कर्जा खर्च गर्ने बाटो खुलेको थियो । मन्त्रालयका अनुसार यस वर्ष सरकारले स्टार्टअप कर्जाका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले ३ प्रतिशत ब्याजदरमा २५ लाखसम्म स्टार्टअप कर्जा दिने तयारी गरेको छ । प्रतिष्ठानले शुक्रबार निकालेको सूचनाअनुसार अबको २१ दिनभित्र यस्तो प्रस्ताव पेस गर्न सकिने छ ।

स्टार्टअप उद्यमको मापदण्ड पूरा गरेका, तोकिएको क्षेत्रमा नवीनतम ज्ञान, सोच, सीप र क्षमता भएका स्टार्टअप उद्यम कर्जा लिन इच्छुकले आवेदन र प्रस्ताव पेस गर्न सक्ने प्रतिष्ठानले जनाएको छ ।

 

प्रकाशित : 2 February, 2024

प्रतिक्रिया दिनुहोस्