टेलिकम सेवाको गुणस्तरमा सुधार गर्न सञ्‍चारमन्त्रीको निर्देशन

सहयात्रा टिभी

काठमाडौं । माघ २२, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको सेवाको गुणस्तरमा सुधार ल्याउन निर्देशन दिएकी छिन् ।

सोमबार नेपाल टेलिकमको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सेवा सुधार गर्न निर्देशन दिएकी हुन् ।

मन्त्री शर्माले भनिन्, ‘हामीले अघि सारेका सेवा प्रवाहमा सुधार र आय वृद्विका कार्य योजनाहरुको प्रगतिको पनि स्मरण र मूल्यांकन गर्ने बेला हो।

हासिल हुन नसकेको बाँकी उपलब्धिको कारण पहिल्याई कमीकमजोरीमा सुधार गरी थप कार्ययोजना र उर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आवश्यक छ ।’

टेलिकमले सञ्‍चालनमा ल्याएको ‘नमस्ते-पे मोबाइल वालेटको व्‍यापारमा थप गृहकार्य गर्न निर्देशन दिइन् ।

उनले सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइबर बिस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रमहरु लक्षित रहेको बताइन्।

उनले समग्र दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीति र प्रशासनिक दुवै खालका काम अघि बढाइरहेको दाबी गरिन् ।

उनले लाइसेन्स खारेज भएका कम्पनीका सम्पती व्यवस्थापन गर्ने कानून संशोधनदेखि, एनसेलको शेयर बिक्री खरिद प्रकरणमा छानबिन गरी प्रतिवेदन लिने लगायतका काम सरकारले गरिसकेको बताइन् ।

मन्त्री शर्माले कर्मचारीहरुको पेशागत, हक, हीतको रक्षा गर्ने दायित्व पहिलो दायित्व भएको बताइन् ।

 

प्रकाशित : 5 February, 2024

प्रतिक्रिया दिनुहोस्