महानगरले भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने सहरी विकासमन्त्रीको चेतावनी

सहयात्रा टिभी

काठमाडौँ । माघ २३, सहरी विकास मन्त्री सीता गुरूङले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी छन्।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानी गर्दै मन्त्री गुरूङले महानगरपालिकालाई यस्तो चेतावनी दिएकी हुन्।

मन्त्री गुरूङले धरहराको निर्माण कार्य पूरा नहुँदै महानगरले जबरजस्ती ढंगले पार्किङ गर्ने व्यवस्था गरेको बताएकी छन्।

यस्तै मन्त्री गुरूङले निर्माण व्यवसायीहरूले काम नगरिरहेको अवस्थामा मजदुरको भुक्तानी लगायतका विषयमा जवाफ सरकारले दिन नसक्ने हुँदा रोक्न भनेको बताइन्। त्यसको लागि पत्र समेत पठाएको उनले बताइन्।

मन्त्री गुरूङका अनुसार महानगरले समन्वय र छलफल नगरी एकलौटी रूपमा पार्किङ गर्नु सान्दर्भिक छैन।

मन्त्री गुरूङले निर्माणाधीन धरहरा निर्माण सम्पन्न भएपछि कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनाएर जानुपर्ने अवस्था रहेको भन्दै महानगरले निर्माण कार्य अवरूद्ध हुने गरी गरेको निर्णय तत्काल रोक्नुपर्ने बताएकी छन्।

यस्तै, मन्त्री गुरूङले धरहरा तीन महिनाभित्र सक्ने गरी निर्माण व्यवसायी र आयोजनासँग सहमति भएर काम भइरहेको अवस्थामा महानगरपालिकाले जबरजस्ती समस्या खडा गरेको बताइन्।

 

प्रकाशित : 6 February, 2024

प्रतिक्रिया दिनुहोस्