सिंहदरबारमा राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक बस्दै

सहयात्रा टिभी

काठमाडौं । माघ २४, तीन तहका सरकारबीच अन्तरसम्बन्ध स्थापित गराउने राष्ट्रिय समन्वय परिषद्को दोस्रो बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, योजना आयोगका प्रतिनिधि, मन्त्रालयका सचिवहरु तथा नगरपालिका संघ, गाउँपालिका महासंघका प्रतिनिधिहरु सहभागी हुनेछन् ।

बैठकमा गत असारमा पोखरामा बसेको परिषदको पहिलो बैठकका निर्णयको समीक्षा र कार्यविस्तृतीकरणलाई अन्तिम रुप दिने विषयमा छलफल हुने छ ।

पोखरा बैठकले संघीयता कार्यान्वयनको क्रममा संघ, प्रदेश र स्थानीय तहबीच देखिएका क्षेत्राधिकारका विवाद लगायतका समस्या ६ महिनाभित्र हटाउने लगायतका निर्णय गरेको थियो ।

सरकारले पूर्वमुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा कार्यविस्तृतीकरण प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनमा अघिल्लो हप्ता प्रधानमन्त्री प्रचण्डसहित छलफल समेत भएको थियो । आज त्यसलाई अन्तिम रुप दिने प्रयास हुने छ ।

प्रकाशित : 7 February, 2024

प्रतिक्रिया दिनुहोस्