पोखरामा अब क्युआर स्क्यान गरेको भरमा सहजै गन्तव्यमा पुग्न सकिने
काठमाडौं । माघ २४, पोखरामा अब क्युआर स्क्यान गरेको भरमा सहजै गन्तव्यमा पुग्न सकिने भएको छ ।
पोखरा महानगरपालिका वडा नं. १३ मा अहिले यस्तै प्रविधि प्रयोगमा ल्याइएको छ । हरेक चोक र बाटोमा वडाले ‘स्ट्रिट नम्बर’सहितको क्युआर स्क्यान राखिदिएको छ ।
जसमा यात्रुले आफ्नो स्मार्टफोनबाट स्क्यान गरेर सहजै बाटो पत्ता लगाउन सक्ने भएका छन् ।
पोखरा महागर १३ का वडाध्यक्ष किरण बरालले पोखरा महानगरलाई स्मार्ट सहरका रुपमा परिचित गराउन वडाबाटै सुरुआत गरिएको बताए । उनका अनुसार वडाका हरेक ठाउँमा राखिएका गुगल प्लस र क्युआर स्क्यानमार्फत सहजै गन्तव्य पुग्न सकिन्छ ।
गुगल प्लस र क्युआर स्क्यानको प्रयोगबाट पोखरा वडा नं. १३ मा प्रवेश गर्ने हरकोहीले स्थान र चाहेको लोकेसन सहजै प्राप्त गर्ने वडाध्यक्ष बरालको दाबी छ । नापी कार्यालय कास्कीको सहयोगमा वडाले ठाउँ पत्ता लगाउन गुगल प्लस र क्युआर स्क्यान राखेको हो ।