अदालतको फरक व्यवहार माथि राष्ट्रियसभामा सांसदहरुले उठाए प्रश्न

सहयात्रा टिभी

काठमाडौं । माघ २९, सांसदहरुले ठूला नेता र व्यापारीलाई अदालतले सर्वसाधारणलाई भन्दा फरक व्यवहार गर्ने गरेको भन्दै चिन्ता जनाएका छन् ।

सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्ने नेकपा माओवादी केन्द्रका सांसदहरुले भ्रष्टाचार र अनियमितता विरुद्ध सरकारले चालेका कदममा अदालतबाट सहयोग नभएको टिप्पणी गरे । नेकपा एमालेका सांसदहरुले पनि अदालतले ठूला नेता र ब्यापारीलाई र सर्वसाधारणलाई फरक व्यवहार गरेको अनुभूति भएको बताए ।

नेकपा माओवादी केन्द्रका सांसद नरबहादुर विष्टले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा निजी कम्पनीमा सारेर अनियमितता गरेको प्रकरणमा पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई रिहा गर्न अदालतले दिएको आदेशप्रति प्रश्न उठाए ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले २२ माघमा दुई दिनभित्र अनुसन्धान सकेर चौधरीलाई रिहा गर्न आदेश दिएका थिए । त्यसपछि २४ माघमा चौधरी रिहा भएका थिए ।

सांसद विष्टले न्यायाधीश आचार्यलाई न्यायपरिषदले कारबाही गर्नुपर्नेमा मुगु सरुवा गरेको सुनेको बताए । अदालतको बारेमा संसदमा समेत कुरा उठेको उल्लेख गर्दै उनले राजनीतिक नेतृत्व गम्भीर बन्न आवश्यक रहेको बताए ।

प्रकाशित : 12 February, 2024

प्रतिक्रिया दिनुहोस्