प्राधिकरणले १० मेगावाटसम्मका आयोजनाको पीपीए खुलाउने निर्णय

सहयात्रा टिभी

काठमाडौं । फागुन २, नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका साना जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) खुलाउने निर्णय गरेको छ ।

स्वदेशी साना लगानीकर्तालाई विद्युतमा लगानी प्रोत्साहन गर्न यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा अघिल्लो साता बसेको प्राधिकरण सञ्चालक समितिको ९६३औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनासँग जहिले र जति पनि पीपीए गर्ने निर्णय गरेको हो ।

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘ल्याऊ या तिर’ (टेक अर पे) प्रावधानका आधारमा खरिद गरिने समेत प्राधिकरणले जनाएको छ ।

आयोजनाका विद्युत् सुक्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर) का लागि हाल कायम दर क्रमशः ८.४० र ४.८० रुपैयाँ प्रतियुनिटमा खरिद हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना लगानीकर्ताको लगानी जलविद्युत क्षेत्रमा प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनामा उत्पादन सम्मिश्रणका आधारमा तय गरिएको पीपीए सीमा लागु नहुने व्यवस्था गरिएको बताए ।

१० मेगावाटसम्मका अधिकांश आयोजना आरओआर छन् । प्राधिकरणले हालसम्म ९ हजार २ सय मेगावाटको पीपीए गरिसकेको छ ।

 

प्रकाशित : 14 February, 2024

प्रतिक्रिया दिनुहोस्