रेशम चौधरी अध्यक्ष भएको जानकारी निर्वाचन आयोग पुग्यो

सहयात्रा टिभी

काठमाडौं । फागुन ७, नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष रेशम चौधरी भएको जानकारी निर्वाचन आयोग पुगेको छ ।

 

२७ पुस २०८० मा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरी सर्वसम्मत चयन भएका थिए । कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा चौधरीसहितका पदाधिकारी चयन भएको जानकारीसहित दलको अभिलेख अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन पुगेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार गत माघ २९ गते नाउपाले निर्वाचन आयोगमा निवेदन दिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ५२ अनुसार राजनीतिक दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिह्न (लोगो) मा परिवर्तन वा संशोधन गरेको र पदाधिकारीको हेरफेर भएको खण्डमा ३० दिनभित्र निर्वाचन आयोगमा जानकारी गराउनुपर्ने हुन्छ ।

त्यसअनुसार नै नागरिक उन्मुक्ति पार्टीले महाधिवेशनबाट भएको पार्टी पदाधिकारी हेरफेर अनुसार दलको अभिलेख अद्यावधिकका लागि आयोगमा निवेदन दिएको हो । ३ फागुन २०७८ मा निर्वाचन आयोगमा दर्ता हुँदा यो पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ थिइन् ।

पहिलो महाधिवेशनले भने रेशम चौधरीलाई अध्यक्ष चयन गरेको छ । संस्थापक अध्यक्ष श्रेष्ठ महाधिवेशनपछि सहअध्यक्षमा मनोनित भएकी छन् ।

श्रेष्ठ चौधरीका श्रीमती हुन् । नाउपाको अध्यक्षमा निर्वाचित चौधरीको कानुनी योग्यताको विषयमा कतिपयले प्रश्न उठाउँदै आएका छन् ।

अदालतबाट हत्या मुद्दामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका बेला रेशम चौधरीले राष्ट्रपतिबाट माफी पाएका थिए ।

पुनः प्राप्त विवरणमा आयोग त्यसमा सन्तुष्ट भए अभिलेख अद्यावधिक हुन्छ । आयोग सन्तुष्ट नभए त्यस्तो दलको अभिलेख अद्यावधिक हुँदैन र पदाधिकारी हेरफेर वा अन्य प्रकारको हेरफेर र संशोधनले मान्यता पाउँदैन ।

 

प्रकाशित : 19 February, 2024

प्रतिक्रिया दिनुहोस्