भारतीय किसानको उद्घोष: आन्दोलन सफल नबनाई घर नफर्किने

सहयात्रा टिभी

काठमाडौं । फागुन ८, अमृतसर पञ्जाबकी ५५ वर्षीया गुरमित कौर किसान आन्दोलनको झण्डा बोकेर पछिल्लो सात दिनदेखि सिंधू बोर्डरमा प्रदर्शन गरिरहेकी छन् ।

घरबाट चार जना सदस्यसहित राजधानी दिल्ली जाऔं अभियानमा सहभागी भएको बताउने उनी आन्दोलन सफल नबनाई घर नफर्किने पक्षमा छिन् ।

उत्तरप्रदेशका अर्का किसान कुलदीप सिंह सन्धु पनि सरकारले किसानका माग सम्बोधन गर्नुपर्ने मागसहित दिल्ली जाऔं यात्रामा सहभागी छन् । यसपटकको आन्दोलन सफल बनाएरै छाड्ने बताउँदै उनी भन्छन्, ‘हामी घरबाट कफन बाँधेर आन्दोलनमा आएका छौं । अन्तिम सास रहुन्जेल डटिरहने छौं ।’

हरियाणाका युवा किसान धर्मवीर ढिंढसा पनि घर छाडेर आन्दोलनमा होमिएको एक हप्ता भइसकेको छ । सरकारको किसानमारा नीतिका कारण खेत खलियान छाडेर सडकमा आउन बाध्य भएको उनी बताउँछन् ।

अहिले पन्जाब, हरियाणा लगायतका किसानहरु उत्पादनको उचित मूल्य पाउनुपर्ने लगायतका एक दर्जन माग राखेर आन्दोलनमा छन् । दिल्ली जाऔं अभियान चलाएका उनीहरुलाई सीमा नाकामा सुरक्षाकर्मीहरुले रोकेका छन् ।

सँगसँगै केन्द्र सरकारका मन्त्री र किसानका नेताहरुबीच वार्ता पनि चलिरहेको छ । चार दिनसम्म चलेको वार्ताबाट पनि माग सम्बोधन नहुने संकेत देखेपछि किसानहरुले रोकिएको स्थानबाट दिल्लीतर्फ अघि बढ्ने निर्णय गरेका छन् ।

 

प्रकाशित : 20 February, 2024

प्रतिक्रिया दिनुहोस्