चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारमै

सहयात्रा टिभी

काठमाडौं । फागुन ८, चीनबाट ल्याइएको रासायनिक मल १० महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ ।

एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो ।

कृषि सामग्री कम्पनी र आयातकर्ताबीच सहमति भए पनि मल गोदामबाट उठ्न नसक्दा अरू सामान लोड–अनलोड गर्न कठिनाइ परेको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसी बताउनुहुन्छ ।

खासा भएर तातोपानी सुक्खा बन्दरगाह आएका अन्य सामग्री भन्सार कार्यालयभित्र राखेर जाँच गर्नुपर्ने अवस्था छ । रासायनिक मलको राजस्व असुल नहुने भएकाले कृषि सामग्री कम्पनी लिमिटेडले चिनियाँ सहरबाट झिकाएर सिधै सङ्घीय राजधानी काठमाण्डौ लाने गरेको उहाँले जानकारी दिनुभयो ।

सिल्क मार्केट प्रालिले नेपाल सरकारको कृषि सामग्री कम्पनी लिमिटेडबाट रासायनिक मल आयात गर्ने ठेक्का पाएको छ ।

गएको वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताउनुहुन्छ । मल भन्सारमै थन्किँदा हिउँदे बाली लगाएका किसान समस्यामा परेका छन् ।

 

प्रकाशित : 20 February, 2024

प्रतिक्रिया दिनुहोस्