बालकुमारी घटनाबारे प्रश्नको जवाफ दिन सरकारलाई सभामुख घिमिरेद्धारा रुलिङ

सहयात्रा टिभी

काठमाडौं । फागुन १०, सभामुख देवराज घिमिरेले बालकुमारी घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

१३ पुसमा दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला समेत दोषी रहेको प्रतिवेदन जाँचबुझ आयोगले बुझाएपछि विपक्षी दलहरुले ६ फागुनकै बैठकमा राजीनामा मागेका थिए ।

त्यो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदन बुझेपछि अध्ययन गरेर कार्यान्वयन गर्ने बताएका थिए ।

तर अहिलेसम्म मन्त्रीले राजीनामा नदिएको भन्दै विपक्षी दलहरुले प्रश्न उठाएका छन् ।

भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालासँगै स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले राजीनामा दिनुपर्ने उनले बताए । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बालकुमारी घटनाबारे प्रश्न उठाए ।

त्यसपछि सभामुखले शून्य समय सुरु गरे । तर एमाले, रास्वपा र राप्रपा तीनवटै दलका सांसदहरु उठेर विरोध गरे । आफूहरुले उठाएको विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै विपक्षी सांसदहरु आ–आफ्नो स्थानमा उभिइरहे ।

बस्नका लागि पटकपटक आग्रह गर्दा पनि विपक्षीले अवरोध जारी राखेपछि सभामुखले शून्य, आकस्मिक र विशेष समयमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरे ।

 

 

प्रकाशित : 22 February, 2024

प्रतिक्रिया दिनुहोस्