माघ–१ बाट हेरिटेज ट्रेल रेस
जुम्ला । आगामी माघ १ गतेदेखि जुम्लामा राष्ट्रियस्तरको १२ किलोमिटरको ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस– २०१८’ सञ्चालन हुने भएको छ ।
कर्णाली स्पोर्ट्स् क्लब, जुम्लाको आयोजना तथा जेआर कर्णाली बोर्डिङको प्रायोजनमा ट्रेल रेस–२०१८ सञ्चालन हुने आज भएको पत्रकार भेटघाट कार्यक्रम सार्वजनिक गरिएको हो । जुम्लाका खेलाडीले अल्ट्रा म्याराथुनलगायत विभिन्न एथ्लेटिक्स खेलमा भाग लिएर राष्ट्रिय ख्याति बनाइसकेको र त्यस्ता खालका खेल जुम्लामा पनि सम्भव छ भनेर देखाउन यसपटक जुम्लामा ‘जेआर केबिएस हेरिटेज ट्रेल रेस–२०१८’ आयोजना गरिएको स्पोर्टस् क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।
त्यसका साथै अध्यक्ष शाहीले यो खेलका माध्यमबाट कर्णालीको कला, संस्कृतिको संरक्षण र खेल क्षेत्रको प्रवद्र्धन ट्रेल रेस आयोजनाको प्रमुख उद्देश्य रहेको बताए । महिला तथा पुरुष दुवै खेलाडीले भाग लिन सक्ने भन्दै उनले यो खेलका लागि एक लाख २५ हजार खर्च हुने र सबै क्षेत्रबाट करीब ६० जना खेलाडी सहभागिता हुने अनुमान रहेको जानकारी दिए । उनका अनुसार ट्रेल रेसको रुट चन्दननाथ नगरपालिका क्षेत्रभित्रका मठमन्दिर, डाँडा, वन, पाखापखेरा, खोचलगायतका स्थान हुनेछन् ।
‘ट्रेल रेसको शुरुवात चन्दननाथ मन्दिर हुँदै बोहोरा गाउँमा रहेको गणेश मन्दिर, दानसाँघु, सिंगाचौरमाथिको बौद्ध स्तुपा हुँदै विजयनगर भएर पुनः चन्दननाथ मन्दिरमा गएर टुंगिने छ’–उनले भने । जेआर कर्णाली बोर्डिङ जुम्लाका प्रिन्सिपल जीवन गुरागाईले विद्यालय व्यक्तिगत पूँजीबाट सञ्चालित भए पनि यसले आफ्नो विज्ञापनको ८० प्रतिशत खर्च कटाएर खेल जगतका लागि सामाजिक उत्तरदायित्व बहन गर्न प्रायोजकको भूमिकामा रहेको जनाए ।