भोलि भरतपुर महानगरपालिकाको भ्रमण वर्षको उद्घाटन

काठमाडौं । फागुन १७, भ्रमण वर्षको फागुन १८ गते भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदी किनारमा एक समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने तय भएको छ ।
उद्घाटन समारोह अगाडि महानगरका २९ वटै वडाबाट विभिन्न झाँकीसहितको र्याली निकाल्ने र नारायणी नदी किनारमा जाने कार्यक्रम तय भएको छ । २ लाख बाह्य र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यसहित भरतपुर भ्रमण वर्ष सुरु गर्न लागिएको हो ।
भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन ५ जना पूर्व प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्का पूर्व अध्यक्षसमेत चितवन आउने भएका छन् ।
करिब ५० हजार सहभागी हुने उद्घाटन समारोहमा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने जनाइएको छ । उनी भोलि दिउँसो हेलिकोप्टरबाट चितवन आउने कार्यक्रम छ ।
कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, एवम् मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि सहभागी हुने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाले जानकारी दिए ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई पनि निम्तो गरिएकोमा उनी सहभागी हुन नसक्ने जनाएको छ ।
सत्ता गठवन्धनका नेताहरु सहभागी हुनुलाई सामान्य मानिए पनि प्रतिपक्षका एमाले अध्यक्ष ओली भरतपुर मेयरको निमन्त्रणलाई स्वीकार गरी आउन लागेकोलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
ओली प्रधानमन्त्री हुँदा नारायणगढ गोन्द्राङ्ग ६ लेनको सडक र भरतपुर सिटी हल शिलान्यास समारोहमा महानगर प्रमुख रेनु दाहाल सहभागी भएकी थिइनन् ।