वृक्षारोपण अभियानमा एक्ला कार्कीले ११ सय बिरुवा रोपे

सहयात्रा टिभी

म्याग्दी । म्याग्दीका एक व्यक्तिले पर्यावरणीय शुद्धता कायम गरी धर्म प्राप्त गर्ने उद्देश्यले आफ्नो गाउँभित्रको सार्वजनिक जग्गा र वन क्षेत्रमा दैनिक रुपमा बिरुवा रोप्ने गरेका छन् ।

बेनी नगरपालिका–२ खवराका चन्द्रबहादुर कार्कीले वन जङ्गलको विनासका कारण बिगँ्रदै गएको वातावरणीय सन्तुलन कायम राख्न, पानीका मूलको संरक्षण गर्न र सोही कार्यमार्फत धर्मप्राप्त गर्ने उद्देश्यले भिन्नभिन्न स्थानमा हालसम्म एक हजार १ सय बिरुवा रोपेका छन् । ५३ वर्षीय कार्कीले पाँच हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताए । ‘रोपेका सबै बिरुवा भएको ठाउँमा समय मिलाएर जान्छु । मान्छेले समेत बिरुवामा क्षति पु¥याएको देखर दुःख लाग्छ’–कार्कीले भने । कार्कीले सदरमुकाम बेनी आसपासका सडकसँगै आफ्नै गाउँसम्म पुग्ने विभिन्न स्थानमा वरपीपलको बिरुवाका साथै विभिन्न प्रजातिका फलफूल पनि लगाएका छन् ।

एक हजार आठ वटा वर–पीपलका बिरुवा रोपेर ती ठाउँमा चौतारी पनि निर्माण गरिसकेका कार्कीले बिरुवा रोपण अभियान शुरु गरेका हुन् । चार महिना अघिदेखि शुरु गरेको सो अभियानअन्तर्गत हालसम्म विभिन्न प्रजातिका ११ सय बिरुवा रोपेको कार्कीले बताए । उनका अनुसार सात्लेपानी, भसभसे, लव्लीहिल, खबरा, ठूलोखबरालगायतका ठाउँमा वरपीपल, समी, सल्लो, वडहर, टुनिलगायतका बिरुवा रोपिएका छन् । बेनीमा कृषिउपज खरिद बिक्री केन्द्र किराना पसल र विभिन्न थरी फलफूलका बिरुवा बिक्री गर्दै आएका खवरा निवासी कार्कीले यस कार्यबाट आनन्द महसुस भएको बताए ।

‘मानिस धर्म गर्न मन्दिर धाउँछन्, दानपुण्य गर्छन्, तर मलाई त्यसो गर्नुभन्दा वातावरणको संरक्षण पनि हुने र मानिसलाई सुविधा पनि हुने वर–पीपल रोप्ने र चौतारी बनाउने काम उपयुक्त लाग्यो र सोही गर्न थालें’–कार्कीले भने । ‘गाउँमा डोजर लगाएर बाटो खन्दा वन क्षेत्र नासियो, पानीका मुहान सुके, चौतारी, पोखरी पुरिए’–कार्कीले भने–‘यसबाट वातावरणको विनाश भयो, म वातावरण संरक्षणमा जुटेको छु ।’

‘यसको असर अहिलेदेखि नै पर्न थालेको छ, छोरा नातिलाई वातावरणीय समस्या नआओस् र उनीहरुले दुःख पाउनु नपरोस् भनेर नै मैले यो अभियान थालेको हुँ, धर्मका लागिभन्दा पनि पर्यावरणीय शुद्धताका लागि मैले यसो गरेको हुँ’–५३ वर्षीय कार्कीले भने । कार्कीकै सक्रियतामा म्याग्दीखोलाबाट २५० मिटर माथि गाउँमा लिफ्ट सिँचाइको प्रविधि प्रयोग गरी पानी समेत लगिएको छ । व्यावसायिक कृषिमा सक्रिय कार्कीले वातावरण संरक्षणमा देखाएको सक्रियताबाट स्थानीयले समेत सिको गर्न थालेका छन् ।

प्रकाशित : 20 December, 2017

प्रतिक्रिया दिनुहोस्