भरतपुर भ्रमण वर्षको औपचारिक उद्घाटन आज, प्रधानमन्त्री तथा पूर्वप्रधानमन्त्रीले सम्बोधन गर्ने

सहयात्रा टिभी

भरतपुर । फागुन १८,चितवनको भरतपुर महानगरपालिकाले ‘घुमौं भरतपुर’ भन्ने नाराका साथ आज भरतपुर भ्रमण वर्ष २०२४ को औपचारिक उद्घाटन गर्दैछ ।

नारायणी नदी किनारमा हुने भरतपुर भ्रमण वर्षको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको छ । भ्रमण वर्ष उद्घाटन समारोहमा सहभागी हुन सबै जसो पूर्वप्रधानमन्त्रीहरु चितवन आउन लागेको विषयले यतिबेला सबैको ध्यान तानेको छ ।

सत्ता गठवन्धनमा आवद्ध नेता र पूर्वप्रधानमन्त्री आउनुलाई स्वाभाविक रुपमा हेरिए पनि प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमेत कार्यक्रममा सहभागी हुने विषयलाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भ्रमण वर्ष उद्घाटन गर्न बिहीबार साँझ नै चितवन आइसकेका छन् ।

सबैभन्दा पहिले एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपाल चितवन आएका छन् । आज सोही पार्टीका सम्मानित नेता एवम झलनाथ खनाल, कांग्रेस सभापति शेरबहादुर देउवा, मन्त्री परिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी आउँदैछन् ।

कार्यक्रममा अर्को पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई निमन्त्रणा गरिएको भए पनि उनी पार्टीको कामको व्यस्तताले आउन नसकेको महानगरपालिकाले जनाएको छ ।

उद्घाटन समारोहमा ५० हजार सहभागी गराउने महानगरपालिकाको दाबी छ । प्रधानमन्त्री प्रचण्डले पानसमा दीप बालेर भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने र सबै पूर्वप्रधानमन्त्रीहरुले वेलुनमा भ्रमण वर्षको लोगो राखेर उडाउने कार्यक्रम तय भएको कार्यक्रम सञ्चालक प्रकाश ज्ञवालीले जानकारी दिए ।

प्रकाशित : 1 March, 2024

प्रतिक्रिया दिनुहोस्