महिला बालबालिका मन्त्रालयको जम्बो टोली अमेरिका जाने तयारी

सहयात्रा टिभी

काठमाडौं । फागुन १८, महिला बालबालिका मन्त्रालयको जम्बो टोली अमेरिका जाने तयारी भएको छ ।

मन्त्रालय स्रोतका अनुसार २६ फागुनमा जम्बो टोली अमेरिका लाग्ने छ । करिब २ हप्तापछि मात्रै टोली नेपाल फर्किने जनाएको छ ।

महिला बालबालिकामन्त्री सुरेन्द्रराज आचार्य २२ जना सरकारी पदाधिकारीको टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेको जानकारी प्राप्त भएको छ ।

११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दिन स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन ठूलो प्रतिनिधिमण्डल दिएर मन्त्री आचार्य न्यूयोर्क जान लागेका हुन् ।

मन्त्रालयबाट मन्त्री आचार्य, सचिव सुमनराज अर्याल र २ सहसचिवसहित ७ जनाको टोली त्यता जाने छ भने महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना पनि प्रतिनिधिमण्डलमा छन् ।

राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाजकल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु पनि टोलीमा रहनेछन् ।

यो कार्यक्रममा सहभागी हुन विभिन्न अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरु जान लागेका छन् ।

स्रोतका अनुसार मन्त्रीले आचार्यले अधिकारवादीका रुपमा असम्बन्धित व्यक्तिहरु समेत टोलीमा राखेर लैजान लागेका हुन् ।

यूएन एजेन्सीमार्फत मनोनयन भएको देखाएर मन्त्रालयको जम्बो टोलीमा नराखी थप व्यक्ति समेत अमेरिका लैजान लागेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

 

 

प्रकाशित : 1 March, 2024

प्रतिक्रिया दिनुहोस्