सालिन पोख्रेलको पोष्टमार्टम रिर्पोटमा बलात्कार नभएको पुष्टि
काठमाडौं । फागुन २०, चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको पोष्टमार्टम रिर्पोटले बलात्कार नभएको देखाएको छ।
त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको प्रहरी उच्च स्रोतले जनाएको छ ।
पोख्रेलको शवको पोष्टमार्टम काठमाडौँको टिचिङ अस्पताल गरिएको थियो। प्रहरी श्रोतका अनुसार पोष्टमार्टममा उनको बलात्कार नभएको पुष्टि भएको हो।
गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेलको मृत्यु भएको थियो।
बालिका होस्टलको कोठामा रहेको सिलिङको पंखामा स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो ।
लगत्तै काठमाडौंबाट उनका बुबालाई बोलाएर प्रहरीले मुचुल्का गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
उनको मृत्युपछि मृतकका आफन्तले ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो।
चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।